सुनसरीका स्थानीय तहमा शिक्षाका हाकिमको हालिमुहाली


काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा प्रशासन सेवाका सहसचिव र उपसचिवहरू हल्लिएर बसिरहेका छन्। उनीहरुबाट देश केही लाभ लिन सकेको छैन। त्यति कै तलब सुविधा दिइरहनु परेको छ। तर, सुनसरीका स्थानीय तहमा भने शिक्षातिरका हाकिमहरूको हालिमुहाली देखिन्छ।

संघीय सरकारले सुनसरीको सदरमुकाममा रहेको इनरुवा नगरपालिका र पूर्वको मुटुका रूपमा परिचित शहर इटहरी उपमहानगरपालिकाका शिक्षातर्फका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ। शिक्षा सेवाका सहसचिव रामचरित्र मेहता इटहरीको प्रमुख प्रशासकीय अधिकृत भएको झन्डै ३ वर्ष पुग्न लागेको छ। शाखा अधिकृत र सहसचिवमा मधेशी कोटाबाट नाम निकालेका मेहता फरक सेवाको सहसचिव जाने ठाउँमा प्रमुख प्रशासकीय अधिकृत भएर गएका छन्। प्रशासनका सहसचिवहरू मन्त्रालयको बरण्डामा घाम तापेर बसिरहँदा इटहरीमा भने मेहताको रजगज देखिन्छ।

इटहरीमा मात्र होइन सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा समेत शिक्षा सेवातिरका डिल्लीराज निरौला प्रमुख प्रशासकीय अधिकृत छन्। शिक्षाका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउँदा काम लिन सजिलो हुने भएकाले त्यहाँ प्रशासनका उपसचिवलाई जान दिइँदैन। यसले पछिल्लो समय इनरुवा नगरपालिकामा विकृति र विसङ्गति ह्वातै बढेको छ। इनरुवावासीले नै नगरपालिकामा अनियमितता मौलाउन थालेको भन्दै चिन्ता प्रकट गर्न थालेका हुन्। यो विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काल सुधार गर्न जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #इनरुवा नगरपालिका डिल्लीराज निरौला, #प्रमुख प्रशासकीय अधिकृत, #रामचरित्र मेहता इटहरी उपमहानगरपालिका

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ