विकल र सुनिलका ‘एस-म्यान’ सफल, एउटा भ्रष्टाचार मुद्दामा सफल अर्कोमा असफल

अन्तःशुल्क स्टिकर छपाई घोटालामा विकलसँगै सफललाई पनि ८ वर्ष कैद 


काठमाडौं । विशेष अदालतले आईटी माफिया विकल पौडेललाई ८ वर्ष कैद हुने ठहर गरेको छ। विशेषले अन्तःशुल्क स्टिकर छपाई घोटालामा दोषी ठहर भएका विकललाई तीन करोड ४२ लाख २२ हजार बिगो कायम गर्दै सोही बमोजिमको जरिवाना हुने ठहर गरेको हो। विकलसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि उत्तिनै कैद र जरिवाना गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले गत कार्तिक १४ गते सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको थियो। उनीहरु दोषी ठहर भएको मुद्दामा बिहीबार सजाय निर्धारण गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अन्त:शुल्क स्टिकर छपाईको भ्रष्टाचार मुद्दामा तत्कालीन सञ्चार सचिव (मुख्यसचिवबाट राजीनामा दिइसकेका) डा. बैकुण्ठ अर्याललगायतले भने सफाइ पाइसकेका छन्।

आईटी माफिया सुनिल पौडेल र विकल पौडेलको ‘एस-म्यान’ रहेका सफललाई ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’मा पनि भ्रष्टाचार मुद्दा लागेको थियो। उक्त मुद्दामा सफलले हाल राष्ट्रिय योजना आयोगको सचिव रहेका मधुकुमार मरासिनीसँगै सफाइ पाएका थिए। त्यो बेला ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ घोटालामा सुनिल पौडेल दोषी ठहर हुँदा सफल भने सफाइ पाउन सफल भएका थिए। तर, विकल पौडेलसँग जोडिएको अन्तःशुल्क स्टिकर छपाई घोटालामा भने सफल सफाइ पाउन असफल भएका छन्। उनीविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पनि विशेष अदालतमा विचाराधीन अवस्थामा छ। त्यसैले गोरखाली सफल एउटा भ्रष्टाचार मुद्दामा सफल अर्कोमा असफल देखिएका छन्। विशेष अदालतका श्रृंखलावद्ध फैसला हेर्दा आईटी माफिया विकल त नामुद भ्रष्टाचारीमा दर्ज भएका छन्। 

क्याटेगोरी : समाचार
ट्याग : #विकल पौडेल, #सफल श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ