अमेरिकाको अलाबामा राज्यमा कार दुर्घटनामा हुँदा तारा केसीको निधन
काठमाडौं। अमेरिकाको अलाबामा राज्यमा भएको कार दुर्घटनामा परी तारा केसी (खत्री)को निधन भएको छ। गत शुक्रबार भएको कार दुर्घटनामा उहाँको निधन भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्। ५२ वर्षको उमेरमा कार दुर्घटनामा परी निधन भएको केसीको १ छोरी र १ छोरा रहेका छन्। अमेरिकाको स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजेर २७ मिनेटमा केसीको कार दुघर्टनामा परेको र उहाँको घटनास्थलमै मृत्यु भएको अमेरिकी सञ्चार माध्यममा उल्लेख छ। केसीको कारलाई अर्को कारले ठक्कर दिँदा निधन भएको हो। केसीले चलाएको कारलाई ठक्कर दिने अर्को कारको ३२ वर्षीय चालक भने घाइते भएको जनाइएको छ। घाइतेको उपचार भइरहेको छ।
केसी भोजपुरको याङपाङ (हाल अरुण गाउँपालिका वडा नम्बर १) मा जन्मिनुभएको हो। प्याउलीको शारदा माध्यमिक विद्यालयबाट २०४६ सालमा एसएलसी उत्तीर्ण गरेकी केसी लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको थियो। पारिवारिक स्रोतका अनुसार केसीको पार्थिव शरीरको अन्त्येष्टि आगामी शनिबार बिहान ९ बजे अमेरिकामै गरिने भएको छ। मृतक तारा नेपाली कांग्रेसका स्वर्गीय नेता निर्मल खत्रीको बहिनी हुनुहुन्छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, विविध
तपाईको प्रतिक्रिया दिनुहोस