भौतिक पूर्वाधार, ऊर्जा, सिँचाईपछि अर्को शक्तिशाली सहरी विकास मन्त्रालयको सचिव बने सिग्देल


काठमाडौं। सहरी विकास मन्त्रालयको सचिवको कार्यभार गोपाल सिग्देलले सम्हालेका छन्। भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको ऊर्जा र सिँचाई दुईवटै सचिवको भूमिकामा रहेर काम गरेका सिग्देल सहरी विकास मन्त्रालयको सचिव बनेका हुन्।

सहरी विकास मन्त्रालयका सचिव बन्नु अगाडि सिग्देल जल तथा ऊर्जा आयोगका सचिव थिए। आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई सहरी विकास मन्त्रालयको सचिवमा सरूवा गर्ने निर्णय गरेको थियो। उनले सोमबार सहरी विकास मन्त्रालयमा पुगेर सचिवको कार्यभार सम्हालेका हुन्।

सिग्देल सडक विभागका महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्। इन्जिनियरिङ सेवा सिभिल हाइवे उपसमूहका सहसचिव (सुई) हुँदै सचिवमा बढुवा भएका सिग्देल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवका लागि उपयुक्त पात्र हुन्। तर, उनी इन्जिनियरिङ क्लष्टरमा पर्ने मन्त्रालयमा जहाँ पनि जान पाउँछन्। इन्जिनियरिङ क्लष्टरको मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय सचिवका लागि आकर्षक मन्त्रालय हुन्। त्यसपछि खानेपानी र विज्ञान तथा प्रविधि मन्त्रालय पर्छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,  राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रष्टको कार्यालय, जल तथा ऊर्जा आयोग जस्ता निकायमा भने पेलिएका सचिव मात्र जानेमा पर्छन्। मन्त्रालय पाउने हिसाबले सिग्देल ‘पावरफूल’ सचिव देखिएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #गोपाल सिग्देल सचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ