वाइडबडी घोटालाका प्रतिवादी एएआर कर्पका दीपक शर्मा अमेरिकामा दोषी ठहर
काठमाडौं। वाइडबडी घोटालाका डिजाइनर मानिएका अमेरिकी एएआर कर्प इन्कका दीपक शर्मा दोषी ठहर भएका छन्। नेपालमा वाइडबडी भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाई भइरहँदा अमेरिकी एजेन्सीले शर्मालाई वाइडबडी घुस काण्डमा दोषी ठहर गरेको हो। वाइडबडी खरिदमा संयुक्त अरब इमिरेट्स (युएई)को बैंक मार्फत नेपाली अधिकारीहरुलाई करौडौं घुस खुवाएको तथ्य समेत शर्माले खुलासा गरिदिएका छन्।
स्वास्थ्य लाइभले नेपाल वायुसेवा निगमले खरिद गरेको बहुचर्चित वाइडबडी जहाज खरिद घोटाला प्रकरणमा अमेरिकाको भ्रष्टाचार अनुसन्धान गर्ने निकायले छानबिन गरिरहेको तथ्य सार्वजनिक गरेको थियो। उक्त विषयमा अमेरिकाले नेपाल सरकारलई पारस्परिक कानुनी सहायता (एमएलए) समेत गरेको थियो।
जहाज खरिद सेटिङमा ‘मास्टर माइन्ड’ एएआर कर्प इन्कका दीपक शर्मा कै योजनामा हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरिएको सोही कम्पनी मार्फत नेपाललाई दुईवटा वाइडबडी जहाज बिक्री गरेको थियो। नेपाली मुलका बेलायती नागरिक शर्माले अमेरिकाको ‘फरेन करप्सन प्राक्टिस एक्ट’विपरीत घुस खुवाएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत जनाएका छन्। वाइडबडी खरिदमा नेपाली अधिकारीहरूलाई घुस खुवाएको आरोपमा दोषी ठहर भएको स्वीकार गरेको समेत जनाइएको छ।
नेपालमा पनि उक्त मुद्दामा गर्मागर्मी बहस चलिरहेको छ। वाडडबडी खरिदका मुख्य एजेन्ट शर्मा नेपाली अधिकारीहरुलाई घुस खुवाएको आरोपमा दोषी ठहर भइसकेकाले नेपालको विशेष अदालतमाथि समेत दबाब सिर्जना हुने अवस्था आएको हो। शर्मालाई नेपाल झिकाएर घुस खुवाएको विषयमा थप सोधपुछ गर्न सके वाइडबडी घोटालामा घुस लेनदेनमा संलग्नहरुको पोल खुल्ने सम्भावना देखिन्छ। विशेष अदालतले यसमा कस्तो कदम चाल्छ हेर्न बाँकी छ।
क्याटेगोरी : समाचारट्याग : #दिपक शर्मा एएआर
तपाईको प्रतिक्रिया दिनुहोस