कुकुरको टोकाइबाट चितवनमा एक वर्षमै झन्डै २५ सय व्यक्ति संक्रमित
चितवन। कुकुरको टोकाइबाट चितवन जिल्लामा मात्र झन्डै २५ सय व्यक्तिहरू संक्रमित भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार कुकुरको टोकाइबाट आर्थिक वर्ष २०८०/ ८१ मा मात्र २ हजार ४ सय ६७ जनामा रोग सरेको हो। ती मध्ये अधिकांशमा रेबिज रोगको संक्रमण भएको जनस्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क रहेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका रोग नियन्त्रण अधिकृत डा. गुरू कँडेल अनुसार कुकुरको टोकाइबाट खैरहनी नगरपालिकामा सबैभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई समेत समेटेर बनेको खैरहनी नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा मात्र १ हजार ६ सय ८ जनालाई कुकुरले टोकेको रिपोर्टिङ भएको छ। त्यस्तै माडी नगरपालिकामा ४ सय १४ जना र राप्ती नगरपालिकामा १ सय ४४ जना व्यक्तिलाई कुकुरले टोकेको डा. कँडेलले जानकारी दिए।
त्यस्तै भरतपुर महानगरपालिकामा १ सय १० जना, इच्छाकामना गाउँपालिकामा ७६ जना, रत्ननगर नगरपालिकामा ५६ जना र कालिका नगरपालिकामा ४९ जना व्यक्ति कुकुरको टोकाइबाट संक्रमित भएका छन्। अन्य जनवारको टोकाइबाट समेत संक्रमित मान्छेको संख्या बढ्दो रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस