स्यालको टोकाइबाट चितवनमा रेबिजको संक्रमण बढ्दो
काठमाडौं। स्यालको टोकाइबाट चितवनमा रेबिजको संक्रमण बढ्दो छ। पछिल्लो समय स्यालले मान्छेलाई टोक्दा रेबिजको संक्रमण बढ्न थालेको हो। पशु स्वास्थ्य अधिकृत डा. सविना मिश्रका अनुसार स्यालको टोकाइबाट रेबिज रोग मानिसको सर्न घटना बढिरहेको छ।
रत्ननगर पशु सेवा शाखाको विवरण अनुसार स्यालको टोकाइबाट मान्छेमा रेबिज देखिएको छ। हालै स्यालको टोकाइबाट रेबिज लागेर एउटा भैसी र एउटा गाई मरेको डा. मिश्रले जानकारी दिइन्।
स्यालले भैसी, गाई र बाख्रागरी ५ वटा पशुलाई टोकेपनि ३ वटामा भने रेबिजको लक्षण नदेखिएको उनको भनाइ छ। १६ जना मान्छेलाई पनि स्यालले टोकेको पाइन्छ। चितवनमा पछिल्लो समय स्यालले मान्छे र पशुलाई टोकेर आतंक मच्चाउन थालेको हो। चितवनमा स्यालको टोकाइले आतंक मच्चाउन थालेको पशु सेवा कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डले पनि देखाउँछ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख डा. गुरु कँडेलले स्यालको टोकेको घटना बढेको बताए। पछिल्लो रेकर्ड अनुसार एक सय २६ जनालाई स्यालले टोकेको चितवनका ६ वटा स्थानीय तहको विवरणबाट स्यालको टोकेको घटना बढेको देखिएको हो।
भरतपुर महानगरपालिकामा मात्र १७ जनालाई स्यालले टोकेको छ। माडी नगरपालिकामा ६० र खैरहनी नगरपालिकामा ४० जना मान्छेलाई स्यालले टोकेको छ। रत्ननगरमा ४, राप्तीमा २, कालिकामा १ र इच्छाकामना गाउँपालिकामा २ जनालाई स्यालले टोकेको जिल्ला जनस्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ। चितवनमा पछिल्लो समय स्यालले मान्छेलाई टोकेको घटना बढ्दै गएको डा. कँडेलको भनाइ छ।
फ्याउरोले समेत ५८ जना व्यक्तिलाई टोकेको छ। खैरहनी नगरपालिकामा मात्र ३० जनालाई फ्याउरोले टोकेको हो। त्यस्तै माडीमा २०, भरतपुरमा ५, इच्छाकामनामा २ र कालिकामा १ जनालाई फ्याउरोले टोकेको जिल्ला जनस्वास्थ्य कार्यालयको रेकर्डबाट देखिन्छ।
चितवनमा बिरालोले टोकेको घटना पनि बढ्न थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका अनुसार ३५ जना व्यक्तिलाई बिरालोले टेकोको छ। सबैभन्दा बढी खैरहनी नगरपालिकामा बिरालोले टोकेको छ। उक्त नगरपालिकामा मात्र २० जनालाई बिरालोले टोकेको हो। त्यस्तै माडीमा १० र भरतपुर महानगरपालिकामा ५ जनालाई बिरालोले टोकेको रिपोर्ट भएको छ।
बाँदरले पनि ३६ जना मान्छेलाई टोकेको छ। माडीमा १५ जना खैरहनी र भरतपुरमा १०-१० जनालाई बाँदरले टोकेको पाइन्छ। त्यस्तै कालिकामा १ जनालाई बाँदरले टोकेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस