भोजपुरको प्याउलीमा माङ्खिम् समुद्घाटन तथा साकेला महोत्सव सम्पन्न
भोजपुर। भोजपुरको प्याउलीमा माङ्खिम् (देउता बस्ने घर) समुद्घाटन तथा साकेला महोत्सव सम्पन्न भएको छ। अरुण आध्यात्मिक प्रतिष्ठान परिसरमा नवनिर्मित माङ्खिम् समुद्घाटन तथा साकेला महोत्सव भव्य रूपमा सम्पन्न भएको हो।
प्रतिष्ठानका महासचिव आचार्य सोमनाथ कोइराला अनुसार अतिथि किराँत राई यायोक्खाका जिल्ला अध्यक्ष श्रीविदुर राईको प्रमुख आतिथ्यतामा माङ्खिम् समुद्घाटन तथा साकेला महोत्सव सम्पन्न भएको हो। अरुण आध्यात्मिक प्रतिष्ठान हिन्दू, किराँत र बौद्ध धर्मको पवित्र थलोको रुपमा परिचित छ। धार्मिक सहिष्णुताको अनुपम नमुना अरुण आध्यात्मिक प्रतिष्ठान हो। त्यसैले अरुण आध्यात्मिक प्रतिष्ठानमा साकेला महोत्सवको आयोजना गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि राईले धार्मिक सहिष्णुताको सन्देश विश्वमा फैलाउन आवश्यक रहेको बताए। संस्कारको अभावले धर्मभित्रको ज्ञान र विज्ञान ओझेलमा परेको बताउँदै उनले प्रकृतिको अनुकूलमा मानवले जीवन जिउँनु पर्ने धारणा राखे। ‘हामी प्रकृतिका उपासक हौँ। संस्कारको अभावले धर्मभित्रको ज्ञान र विज्ञान ओझेलमा परेको छ । धार्मिक सहिष्णुताको सन्देश विश्वमा फैलाउन आवश्यक छ’, राईले भने। अरुण आध्यात्मिक प्रतिष्ठानका उद्देश्य पूरा गर्न उल्लेख्य सहयोग गर्ने समेत अध्यक्ष राईको प्रतिबद्धता छ।
माङ्खिम् समुद्घाटन तथा साकेला महोत्सव कार्यक्रमको संयोजक अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानकी उपाध्यक्ष कविता राई रहेकी थिइन्। कार्यक्रमको सभापति चूडामणि दाहाल, विशिष्ट अतिथि जग्गादाता तोरण कार्की, अरुण गाउँपालिका उपाध्यक्ष विनीता ढकाल, अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद पराजुली रहेका थिए। त्यस्तै कार्यक्रममा अरुण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कुमार कार्की, ७ नम्बरका वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक कुमार थापा, किराँत राई यायोख्खा जिल्ला उपाध्यक्ष अनिता राई र जिल्ला सचिव निरन राई तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन भने प्रतिष्ठानका सचिव कोइरालाले गरेका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस