सहसचिवमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका उपसचिवहरू


काठमाडौं। प्रशासन सेवाका ३७ जना उपसचिवहरू सहसचिवमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका छन्। ३७ जनामध्ये १९ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा र १७ जना कार्यक्षमताका आधारमा बढुवा हुनेछन्।

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने प्रशासन सेवाको सहसचिव बढुवाका लागि राजस्व र प्रशासन समूहका उपसचिवहरू प्रतिस्पर्धामा देखिन्छन्। निजामती सेवामा सबैभन्दा जेष्ठ उपसचिव रामप्रसाद मैनाली हुन्। २०६७ माघ ६ गते राजस्व समूहको उपसचिव भएका मैनाली अघिल्लो ‘लट’मै बढुवा हुनुपर्ने हो। तर, दुई वर्ष बढी असाधारण बिदा लिएर बेलायत गएका उनी बढुवामा पछाडि परेका छन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा मैनालीभन्दा एक वर्ष पछाडि उपसचिव भएकाहरु सहसचिव हुने लाइनमा रहेकाले उक्त माध्यमबाट बढुवा हुन उनलाई त्यति सहज देखिँदैन। कार्यक्षमताका आधारमा भने मैनाली बढुवा हुन पनि सक्छन्।

मैनालीपछि राजस्व समूह कै उपसचिव पदमकुमार श्रेष्ठ र दिलिप कुमार गौतम रहेका छन्। २०६७ चैत ६ गते राजस्वको उपसचिव भएका श्रेष्ठ र गौतम सहसचिव हुने निश्चित जस्तै देखिन्छ।

२०६७ चैत ११ गते सामान्य प्रशासन समूहमा उपसचिव भएका सबै जना जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवा हुने देखिन्छन्। उक्त ‘ब्याच’का उपसचिव युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, योगेन्द्रप्रसाद दुलाल, पुरुषोत्तम अधिकारी, विमलप्रसाद बराल, विजयराज सुवेदी, बलराम ढकाल, नारायणप्रसाद मैनाली, गोविन्दप्रसाद अधिकारी, पवनकुमार तिमिल्सिना, शान्तिराज प्रसाई, चिरञ्जीवी तिम्सिना र कविन्द्र नेपाल हुन्।

रामप्रसाद मैनाली जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा छिरेनन् भने २०६७ चैत २७ गतेका उपसचिव योमेन्द्र उपाध्याय, प्रेमप्रसाद लुईंटेलमध्येबाट एक जना छिर्ने सम्भावना छ। भविश्वर पाण्डेहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी लुकाउँदा अघिल्लोपटक सहसचिवमा बढुवा हुनबाट बञ्चित भएका थिए।

कार्यक्षमताका आधारमा हुने सहसचिवको बढुवामा २०६७ चैत २७ गते सामान्य प्रशासन समूहको उपसचिव भएकाहरु योमेन्द्र उपाध्याय, प्रेमप्रसाद लुईंटेल, महेश भट्टराई, विनिता भट्टराई, रामदत्त पाण्डे, मनिता श्रेष्ठ, लक्ष्मी पाण्डे गौतम प्रतिस्पर्धामा छन्। त्यस्तै २०६७ चैत २८ गते उक्त समूहबाटै उपसचिव भएका लक्ष्मण ढकाल पनि सहसचिव बढुवाको लाइनमा छन्।

सामान्य प्रशासनका लोकबहादुर सुनार लेखाका विरेन्द्रकुमार मिश्र, राजस्वका जगदिश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, राजेन्द्रकुमार हमाल पनि सहसचिव बढुवाको प्रतिस्पर्धामा रहेका छन्। २०६८ साल चैत ३ गते उपसचिव भएका सामान्य प्रशासन समूहका इन्द्रप्रसाद बस्याल, पूर्णमान शाक्य, लेखाका उपसचिव शिवप्रसाद चौधरी, राजस्वका दिव्यराज पोखरेल पनि सहसचिवमा बढुवा हुने सम्भावना छ।

बस्याल कै ‘ब्याची’ उपसचिवहरू कृष्णप्रसाद आचार्य, कृष्णबहादुर शाही, कृष्णप्रसाद खनाल र कृष्णबहादुर कटुवालमध्येबाट सहसचिवमा उक्लिनेछन्। जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवामा फरक नपरे पनि कार्यक्षमताका आधारमा हुने बढुवामा केही फरक पर्न सक्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ