सर्वोच्च बारका लागि मेघराज पोख्रेलको टिमले मैतिदेवीबाट चुनावी अभियान सुरु गऱ्यो
काठमाडौं। सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि वरिष्ठ अधिवक्ता मेघराज पोख्रेलको समूहले चुनावी अभियान सुरु गरेको छ। काठमाडौंको मैतीदेवीबाट पोख्रेलको समूहले सर्वोच्च बारको नेतृत्व लिनका लागि चुनावी अभियान सुरु गरेको हो। उनीहरूलाई कानुन व्यवसायीहरुले मैतीदेवीमा भव्य स्वागत गरेका छन्।
बहत्त लोकतान्त्रिक, समाजवादी समावेशी पेशागत कानुन व्यवसायी समूहको नाम दिएको उक्त समूहले शुक्रबारदेखि चुनावी अभियान थालेको छ। उक्त समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता पोख्रेललाई अघि सारिएको हो।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए)को संयुक्त प्यानलबाट वरिष्ठ अधिवक्ता मेघराजलाई अध्यक्षको उम्मेदवार बनाइएको हो। उनी नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन तर्फबाट अध्यक्षको उम्मेदवार बन्न सफल भएका हुन्। उपाध्यक्षको उम्मेदवार भने समाजवादी कानुन व्यवसायी संगठनका तर्फबाट अधिवक्ता अमरबहादुर राउत भएका छन्।
सचिवमा डिएलएका तर्फबाट अधिवक्ता रमणकुमार कर्ण र सहसचिवमा एसपीएलएको तर्फबाट अधिवक्ता पुन्देवी महर्जन (सुजना)लाई उम्मेदवार बनाउने निर्णय भएको छ। कोषाध्यक्षमा भने अधिवक्ता रामचन्द्र पौडेललाई अघि सारिएको हो।
नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी कानुन व्यवसायी संगठन (एसपीएलए)को संयुक्त प्यानलबाट महिला सदस्यमा अधिवक्ता शशी बस्नेत उम्मेदवार बनेकी छिन्। त्यस्तै सर्वोच्च अदालत बार एशोसिएसनको सदस्यका लागि वरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ र इद्रशेखर खड्कालाई उम्मेदवार बनाउने निर्णय भएको छ। त्यसैगरी सदस्यका लागि अधिवक्ता पुरुषोत्तमप्रसाद लोहनी, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण प्रमोद रेग्मी र प्रदिप राजवंशीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। उनीहरू सक्रिय रूपमा चुनाव प्रचारप्रसारमा खटिएका छन्।
सर्वोच्च बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि आगामी पुस २० गते शनिबार मतदान हुने कार्यतालिका रहेको छ। पोख्रेलविरुद्धको अर्को प्यानल भने अहिलेसम्म बन्न सकेको छैन।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस