उपसचिव-सहसचिव नै भ्रष्टाचारी ठहर भएपछि उजाड बनेको नागरिक उड्डयन महाशाखा


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत एक महाशाखामा कार्यरत उपसचिव र सहसचिव नै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उक्त महाशाखा प्रमुख सहसचिव बुद्धिसागर लामिछाने र उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी विशेष अदालतबाट ठहर भएका हुन्। नागरिक उड्डयन महाशाखा उपसचिव नेपाल र सहसचिव लामिछाने भ्रष्टाचारी ठहर भएपछि उक्त महाशाखा नै अहिले उजाड बनेको देखिन्छ।

प्याराग्लाइडिङ उडानका लागि अनुमति प्रदान गर्दा घुस लिएको फेला परेपछि नागरिक उड्डयन महाशाखामा कार्यरत सिनियर एयर ट्राफिक कन्ट्रोल अफिसर (सिनियर एटीसी अफिसर) नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर भ्रष्टाचार मुद्दा चलाएको थियो। उक्त मुद्दामा नेपाल दोषी ठहर भएको एक वर्ष हुन लागेको छ। नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपाल भ्रष्टाचारी ठहर भएको एक वर्ष नबित्दै सहसचिव लामिछाने पनि वाइडबडी विमान खरिद भ्रष्टाचारमा दोषी ठहर भएका हुन्। 

अहिले नागरिक उड्डयन महाशाखा सम्हालिरहेकी तनुजा पोखरेल (सिडिई एरोनोटिकल) नेपालको घुस काण्डमा विवादमा मुछिएकी थिइन्। प्याराग्लाइडिङ उडानको अनुमति घुस खुवाउने पूर्ण चौलागाईले तत्कालीन एटीसी अफिसर मुकेश डंगोल र एरोनोटिकल इञ्जिनियर तनुजा पोखरेलले समेत घुस खुवाएको बयान दिएका थिए। घुसको चाँजोपाँजो मिलाउन भूमिका खेलेको भन्दै अख्तियारले समेत पुरक अभियोग लाने तयारी गरेको थियो। तर, अख्तियारले अहिलेसम्म उनीविरुद्ध मुद्दा लगेको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन महाशाखाका सहसचिव, उपसचिव भ्रष्टाचार मुद्दामा दोषी ठहर हुन र अन्य कर्मचारीमाथि समेत आक्षेप लाग्नुले उक्त महाशाखा भ्रष्टाचारका लागि उर्बर रहेको अनुमान लगाउन सकिन्छ। उर्बर महाशाखाका कर्मचारी एकपछि अर्को गर्दै भ्रष्टाचारी ठहर भएपछि उजाड बन्दै गएको देखिन्छ। 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #तनुजा पोखरेल, #नागरिक उड्डयन महाशाखा, #प्रमोद नेपाल, #बुद्धिसागर लामिछाने, #संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ