भट्टराईको स्नातकको सर्टिफिकेट नभएपछि श्रीलंकाको राजदूतमा चान्स पाउने नेपाली


काठमाडौं। स्नातक तह उत्तीर्णको शैक्षिक प्रमाणपत्र( सर्टिफिकेट) पेस गरेको भए श्रीलंकाको राजदूत भएर रामकृष्ण भट्टराई गइसक्थे। श्रीलंकाका लागि राजदूतमा सिफारिस भएर संसदीय सुनुवाई समितिबाट अनुमोदन गर्ने बेलामा विराटनगरका भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन सकेनन्। नेपाली कांग्रेसको कोटाबाट श्रीलंकाको राजदूतमा सिफारिस भट्टराईको नाम संसदीय सुनुवाई समितिले अघि बढाएन। त्यसपछि पूर्णबहादुर नेपालीले ‘चान्स’ पाए। राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापा निकट विराटनगरका पूर्वमेेयर भट्टराईको राजदूत हुन योग्यता नपुगेपछि नेपालीले राजदूत हुने चान्स पाएका हुन्।

संसदीय सुनुवाई समितिले श्रीलंकाको राजदूतमा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक रहेका नेपालीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ। राजदूत नियुक्तिलाई समावेशी बनाउन समितिले निर्देशन पालना गरेको भनेर सरकारलाई धन्यवाद समेत दिएको छ। तर, भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेस गर्न नसक्दा मात्र नेपालीले राजदूतमा ‘चान्स’ पाएका हुन्।

परराष्ट्र मन्त्रालयले प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिमा पठाउनु अघि शैक्षिक प्रमाणपत्रलगायतका आवश्यक कागजात भए/नभएको एकिन गरेर संसद् सचिवालयमा विवरण पठाउनु पर्ने हो। तर, परराष्ट्र मन्त्रालयको गैर जिम्मेवारीपनका कारण ‘योग्यता’ नै नपुगेका भटराईको नाम संसदीय सुनुवाई समितिमा पुगेको हो। यसको मुख्य दोषी परराष्ट्र मन्त्रालय देखिन्छ। संसदीय सुनुवाई समितिबाट अनुमोदन हुन नसकेका भट्टराईको ठाउँमा नेपालीको नाम अनुमोदन भएको छ। अब श्रीलंकाबाट ‘एग्रिमो’ नेपालीलाई राष्ट्रपतिले श्रीलंकाका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गर्नेछन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्वबहादुर नेपाली श्रीलंका राजदूत, #रामकृष्ण भट्टराई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ