कर्मचारी नेताहरू धमाधम भ्रष्टाचारमा डामिन थाले


काठमाडौं। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा कर्मचारीको दलिय ट्रेड युनियन चाहिन्छ कि चाहिँदैन भनेर बहस चलिरहेको छ। मिनी संसद्मा दलैपिच्छे युनियन बनाउन दिने कि नदिने भनेर बहस चलिरहँदा कर्मचारी नेताहरू भने धमाधम भ्रष्टाचारमा डामिन थालेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसको शुभेच्छुक संस्था नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष (जनजाती) पुरण गुरूङलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा सडक निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा अर्जुन चौपारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङविरुद्ध २७ लाख ५ हजार ११ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
त्यस्तै एमाले निकट कर्मचारी संगठनका नेता धनेश्वर प्रसाईं तीन लाख घुससहित पक्राऊ परेका हुन्न्।  घुससहित पक्राऊ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचलमा कार्यरत शाखा अधिकृत प्रसाईं अहिले अख्तियारको हिरासतमा छन्। प्रसाईं शिक्षा मन्त्रालयको एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका  विभागीय कोषाध्यक्ष हुन्।
पछिल्लो समय घूस र भ्रष्टाचार काण्डमा कर्मचारी नेताहरू अख्तियारको फन्दामा पर्न थालेका छन्। राजनीतिक संरक्षणमा कर्मचारी नेताहरूले सार्वजनिक प्रशासनलाई भ्रष्टाचारको अखडा बनाउन थालेको टिप्पणी हुँदै आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो एक्सनमा कर्मचारी नेताहरू एकपछि अर्को गर्दै भ्रष्टाचारमा डामिनुले त्यो कुरालाई पुष्टि गर्छ।
कर्मचारी संगठनका आडमा मन्त्रालय, विभाग, कार्यालयहरूको स्टोरदेखि आकर्षक अड्डामा कर्मचारी नेताहरुको हालिमुहाली देखिन्छ। उनीहरूले घूस खाने, भ्रष्टाचार गर्ने र हाकिमहरुलाई दबाब र प्रभावमा पार्ने काम गरिरहेका छन्। कर्मचारी संगठन र नेताका कारण सार्वजनिक सेवा र प्रशासनमा बेथिति मौलइरहेको पाइन्छ। संगठनले संरक्षण गर्ने भएकाले कर्मचारी नेताहरु यस्तो मामिलामा अगाडि देखिएको अख्तियारको एक्सनले देखाउँछ।

क्याटेगोरी : समाचार
ट्याग : #थानेश्वर प्रसाईं, #पुरण गुरूङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ