अर्थ समितिका सभापति चालिसेमाथि छानबिन गर्न अख्तियारले निर्वाचन आयोगसँग मागेको थियो सहयोग
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभाको अर्थ समितिका सभापति सन्तोष चालिसेमाथि छानबिन गर्न निर्वाचन आयोगसँग समेत सहयोग मागेको तथ्य फेला परेको छ। चालिसे अर्थ समितिको सभापति भएपछि गैरकानुनी सम्पत्ति आर्जनलगायतका विषयमा छानबिन गर्न अख्तियारले निर्वाचन आयोगसँग सहयोग मागेको हो।
कांग्रेसबाट टिकट पाएर प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद चालिसे २०८० भदौ ११ मा अर्थ समितिको सभापति भएका थिए। त्यसको झन्डै १ महिनापछि अख्तियार उनीमाथि छानबिन गर्न निर्वाचन आयोगको समेत सहयोग लिएको पाइन्छ।
अख्तियारका महाशाखा प्रमुख विशेष प्रकृतिको ‘केस’मा मात्र आफैं अनुसन्धान अधिकृत तोकिने र हुने गर्छन्। गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर तथा अर्थ समितिका सभापति चालिसेमाथि छानबिन गर्न अख्तियारको प्रहरी महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङलाई नै छानबिन अधिकृत तोकिएको थियो। प्रहरी नायव महानिरीक्षक (डिआईजी) खापुङलाई नै छानबिन अधिकृत तोकेर चालिसेमाथि छानबिन गर्नुले यो ‘केस’ अख्तियारको विशेष प्राथमिकता रहेको बुझिन्छ। खापुङको कोशी प्रदेशमा सरुवा भएपछि उनको ठाउँमा बुद्धिराज गुरूङ आए। गुरुङ एआईजीमा बढुवा भएपछि केही समय अघि मात्र डिआईजी हिमालयकुमार श्रेष्ठ अख्तियारको कमाण्ड सम्हालेका छन्।
खापुङ कै पालामा गोकर्णेश्वर नगरपालिकाका मेयर हुँदा कै भ्रष्टाचारमा चालिसेमाथि अख्तियारले विस्तृत छानबिन सुरु गरेको अख्तियारका अधिकारीहरू बताउँछन्। उनीमाथि अख्तियारले छानबिन गरेको स्वास्थ्य लाइभलाई प्राप्त कागजातबाट पनि पुष्टि हुन्छ।
‘उपरोक्त सम्बन्धमा जिल्ला साविक जोरपाटी गा.वि. स. वडा नं. ९ हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरूवारी स्थायी वतन हुने लक्ष्मीनाथ चालिसेको नाती, भवनाथ चालिसेको छोरा श्री सन्तोष चालिसे (ना. प्र. प. नं. २१३९१) मिति २०७४ सालको स्थानीय तह निर्वाचन अन्तर्गत गोकर्णेश्वर नगरपालिका काठमाडौंबाट मेयर पदमा निर्वाचित भएको मिति एवं मेयर पदमा निर्वाचित भइसकेपश्चात निजले पद तथा गोपनीयताको शपथ लिएको मिति समेत खुलाई यस आयोगको महाशाखा नम्बर १२ को कोठा नम्बर ७ मा गोप्य रुपमा सम्बन्धित छानबिन अधिकृतले प्राप्त गर्ने गरी उपलब्ध गराई छानबिन कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ।’, छानबिन अधिकृत खापुङले निर्वाचन आयोगलाई छानबिनमा सहयोग गर्न अनुरोध गर्दै लेखिएको पत्रमा उल्लेख छ। अख्तियारका प्रवक्ता नरहरि घिमिरेलाई यो विषयमा बुझ्न खोज्दा छानबिनको विषयमा सार्वजनिक रुपमा बोल्न नमिल्ने प्रतिक्रिया दिए। ‘छानबिन भइरहेको होला यस्तो विषयमा अहिले बोल्न मिल्दैन।’, उनले स्वास्थ्य लाइसँग भने। अख्तियारका अधिकारीहरु चालिसेमाथि छानबिन भएको कुरामा सत्यता रहेको बताउँछ।
चालिसेमाथि अख्तियारले छानबिन गरेको विषयमा सत्यता नरहेको सचिवालयको दाबी
अर्थ समितिका सभापति सन्तोष चालिसेको सचिवालयले भने उनीमाथि अख्तियारले छानबिन गरेको विषयमा सत्यता नरहेको दाबी गरेको छ। स्वास्थ्य लाइभले पौष १८ गते बिहीबार प्रकशित गरेको ‘नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले गोकर्णेश्वरका पूर्वमेयरलाई के गर्ला?’ भन्ने विषयमा सार्वजनिक गरिएको समाचारले झूठा, भ्रामक र तथ्यहीन रहेको चालिसेको सचिवालयले दाबी गरेको हो। गलत समाचार सम्बन्धमा स्वास्थ्य लाइभसँग स्पष्टीकरण माग गर्दै उनको सचिवालयले झूठा, भ्रामक र तथ्यहीन रहेको दाबी गरेको छ।
स्वास्थ्य लाइभले सत्य तथ्यको पुष्टि नगरी उक्त समाचार प्रसारण गर्नु निकै दुर्भाग्यपूर्ण रहेको चालिसेको सचिवालयको ठहर छ। ‘म तपाईंको संस्थालाई आफ्नो जिम्मेवारी सम्झाउँदै भविष्यमा यस्ता त्रृटिहरू दोहोरिन नदिने प्रतिबद्धता चाहन्छु। समाचारको पुष्टि नगरी कुनै पनि समाचार सम्प्रेषण गर्दा जनतामा गलत प्रभाव पर्न सक्छ जसले समाजलाई नकारात्मक दिशमा धकेल्ने जोखिम निम्त्याउँछ।’, प्रेस काउन्सिल नेपाललाई सम्बोधन गर्दै अर्थ समितिका सभापति चालिसेका स्वकीय सचिव निराजन अर्यालले लेखेको खण्डमा भनिएको छ, ‘यस घटनाको छानबिन गरी क्षमायाचना गर्नुका साथै सुधारात्मक कदम चाल्न म तपाईंको संस्था समक्ष अनुरोध गर्दछु। यस विषयमा तपाईंको तर्फबाट तत्काल स्पष्टीकरण र आवश्यक सुधारात्मक कदमको अपेक्षा गर्दछु।’,
यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र उचित जवाफ पठाउन चेतावनी दिँदै अर्थ समितिका सभापति चालिसेको सचिवालयले अन्यथा आफूहरू यो विषयलाई कानुनी प्रक्रियामा लैजान बाध्य हुने जनाएको छ।
अख्तियारले चालिसेमाथि छानबिन गरेको विषय सत्य तथ्य रहे/नरहेको छुट्याउने जिम्मा पाठकहरू कै हुन्छ। स्वास्थ्य लाइभले प्रकाशित गरेको समाचारमा सत्यता रहे/नरहेको यसैबाट छुट्याउन सकिन्छ। चालिसे मेयर हुँदा गोकर्णेश्वर नगरपालिकाका भएका विकास निर्माण र बजेट दुरुपयोगका विषयमा पनि अख्तियारले छानबिन गरिरहेको छ। त्यसको पुष्टि हुने कागजात पात्र गरेपछि स्वास्थ्य लाइभ उक्त तथ्यलाई उजागर गर्न प्रतिबद्ध छ। जवाफदेहिता हाम्रो जिम्मेवारी हो।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : #सन्तोष चालिसे
तपाईको प्रतिक्रिया दिनुहोस