यी मन्त्रालयका सचिवसँग कर्मचारी छैनन् सन्तुष्ट
समाचार टिप्पणी
काठमाडौं। सचिव भनेको मन्त्रालयको प्रशासनिक ‘हेड’ हो। सचिवले कर्मचारी प्रशासनलाई चलायमान बनाउने भूमिका खेल्छन्। तर, केही मन्त्रालयका सचिवसँग कर्मचारीहरू नै असन्तुष्ट रहेको पाइन्छ। मातहतका कर्मचारीलाई ती सचिवहरुले सन्तुलित व्यवहार र सन्तुष्ट पार्न सकेको देखिँदैन।
विभिन्न मन्त्रालयका कर्मचारीसँग कुरा गर्दा सचिवसँग सबैभन्दा असन्तुष्ट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारी रहेको पाइन्छ। युवा तथा खेलकुद, वन तथा वातावरण, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कर्मचारी पनि सचिवसँग त्यति सन्तुष्ट रहेको पाइँदैन।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव भरतमणि सुवेदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले कर्मचारीसँग समन्वय गर्ने नगरेको र अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको कर्मचारीहरुको गुनासो छ। सुवेदीले टिप्पणी सदर नगर्ने र काम अड्काउने गरेकोमा कर्मचारीहरू असन्तुष्ट देखिन्छन्। सचिव सुवेदी पुरात्त्वबाट प्रशासनको सचिवमा आएका हुन्। पर्यटन सचिव पाण्डेको कार्यशैलीमाथि नै मन्त्रालयका कर्मचारी असन्तुष्ट छन्।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालसँग पनि कर्मचारीहरु खासै सन्तुष्ट छैनन्। तथ्याङ्क सहसचिवबाट प्रशासनको सचिवमा बढुवा भएर आएका अर्यालको समन्वय र मातहतका कर्मचारी परिचालन गर्ने क्षमता कमजोर रहेको बताइन्छ। उनलाई पछिल्लो समय कर्मचारीले नै टेर्न छाडेका छन्।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपककुमार खरालसँग त कर्मचारी मात्रै होइन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरू नै सन्तुष्ट छैनन्। आफ्नो काम लिन चिप्ला कुरा गर्ने र राज्यको काममा ध्यानै नदिने भनेर सचिव खरालमाथि आरोप लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका कर्मचारीले नै चासो राखेको काम ६ महिनासम्म पनि हुन नसकेपछि खराललाई ‘चिप्ला’ सचिव भनेर प्रधानमन्त्री कार्यालयमा भन्न थालिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलसँग पनि उपसचिव र शाखा अधिकृतहरू त्यति सन्तुष्ट देखिँदैनन्। अप्ठ्यारो परिस्थितिमा बिदा बसिहाल्ने शैलीका कारण सचिव पोखरेल कर्मचारीमाझ त्यति प्रिय पाइँदैनन्। यी त केही उदाहरण मात्र हुन् अन्य मन्त्रालयमा पनि यस्तै गुनासो आउने गरेका छन्।
गृह मन्त्रालयमा झन् मन्त्रीले सचिवलाई ‘हप्काउने’ गरेको चर्चा छ। जसरी गृहमन्त्री बालकृष्ण खाँणले तत्कालीन सचिव टेकनारायण पाण्डेलाई हप्काउथे त्यसरी नै गृहमन्त्री लेखकले सचिव गोकर्णमणि दुवाडीलाई पनि त्यसरी नै हप्काउन थालेको गृह कै कर्मचारीहरू सुनाउँछन्। सचिवहरुले कार्यशैली सुधारेर मातहतमा कर्मचारीलाई राज्यका लागि सेवा गर्न प्रोत्साहन गर्नुपर्नेमा आफ्नै स्वार्थमा लिप्त हुँदा निजामती प्रशासनमाथि नै वितृष्णा पैदा हुन थालेको छ। यो विषयमा उनीहरुले ध्यान दिन सकेका छैनन्।
क्याटेगोरी : समाचारट्याग : #अर्जुनप्रसाद पोखरेल, #गोकर्णमणि दुवाडी गृहसचिव, #टेकनारायण पाण्डे, #डा गणेशप्रसाद पाण्डे सचिव, #दिपक खराल, #भरतमणि सुवेदी, #सुमनराज अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस