कांग्रेस नेता डा. कोइरालाले भेटे बेलायतका कानुन उपमन्त्री डकिन
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा बेलायतका संसदिय मामिला तथा कानुन उपमन्त्री सर निक डकिनसँग भेटेका छन्। बेलायत भ्रमणमा रहेका नेता कोइरालाले कानुन उपमन्त्री डकिनसँग भेटेका हुन्। भेटमा उनीहरूबीच नेपालको मानव अधिकारको अवस्था, संक्रमणकालीन न्याय जस्ता बिषयमा कुराकानी भएको जनाइएको छ।
त्यस्तै नेता कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन्।लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधान हुनुपर्ने कुरा राखेका छन्। ब्रिटिस एअरवेजको लण्डन-काठमाडौं सिधा हवाई उडान हुनुपर्ने समेत उनको प्रस्ताव राखे।
जलवायु परिवर्तनका कारण नेपाल संकटमा परेको र हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका भन्दै नेता कोइरालाले भेटवार्तामा भनेका छन्, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षेती व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्ने ।’, बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन्। भेटघाटमा बेलायतका लागि कार्यवहक राजदूत बिपिन दुवाडी पनि रहेका थिए ।
त्यस्तै बेलायत भ्रमणमा रहेका नेता कोइरालाले संसद भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीसँग भेटवाार्त गरेका छन्। नेता कोइराला र क्लेभर्लीबिच भएको भेटवार्तामा नेपाल-बेलायत सम्बन्ध, आपसी सहयोग जस्ता बिषयमा कुराकानी भएको थियो। कोइराला नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. कोइरालाले बेलायतका उच्च अधिकारीहरुसँग तीव्र भेटघाट तथा नेपालको हितमा छलफल गरिरहेका छन्। उनी उच्चस्तरीय भेटवार्तामा सरिक हुँदै आएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस