धरानमा सुर्तीजन्य वस्तु किन्न, बेच्न लगाएको प्रतिबन्धको नेपाल अर्बुद रोग निवारण संस्थाद्दारा स्वागत
धरान । धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध लगाइएको छ । धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो ।
उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्धकाे निर्णय प्रति नेपाल अर्बुद रोग निवारण संस्थाले स्वागत गरेकाेछ ।
संस्थाकाे महासचिव दिपेन्द्र बान्तवाद्दारा जारी विज्ञप्तिमा भनिएको छ, “धरान उपमहानगर पालिकाको कार्यपालिकाले गरेको उपमहानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग, किनबेच र भण्डारणमा रोक लगाउने निर्णयको यस नेपाल अर्बुद रोग निवारण संस्था हार्दिक स्वागत गर्दछ ।”
प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७,५२९ अर्थात प्रतिघण्टा चार जनाभन्दा धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । जुन संख्याले नेपालको कूल मृत्युको १९.४१ प्रतिसत ओगट्छ ।
नेपाल सरकारले सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरण, नियन्त्रण तथा नियमनका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८, नियमावली २०६८ तथा निर्देशिका २०७१ समेत कार्यान्वयनमा ल्याइसकेको छ । यद्यपी नीतिगत रुपमा बलियो भए पनि यसको कार्यान्वयन पक्ष अत्यन्तै फितलो देखिएको अवस्थामा पूर्वी नेपालको उदाउँदो शहर धरान उपमहानगरले आफ्ना नागरिकसँगै सम्पूर्ण नेपालीको जनस्वास्थ्यको ख्याल गरी सुर्तीजन्य पदार्थको प्रयोग, किनबेच र भण्डारणमा रोक लगाउने महत्वपूर्ण निर्णय गरी एउटा उदाहरणीय कामको थालनी गरेको छ, विज्ञप्तिमा भनिएको छ ।
महासचिव बान्तवा भन्छन्, “सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने किसिमका रोगहरु जस्तै क्यान्सर, स्वासप्रस्वास सम्बन्धी रोगहरु, मुटु सम्बन्धी विभिन्न रोगहरु लाग्ने तथ्य अवगत छ ।
नेपाल अर्बुद रोग निवारण संस्था क्यान्सर रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्ने महाअभियानमा ४२ वर्षदेखि निरन्तर लागि रहेको अवस्थामा उपमहानगरका प्रमुख हर्क साम्पाङ लगायत कार्यपालिकाका सम्पूर्ण पदाधिकारीज्यूहरुले गर्नुभएको यस निर्णयले हाम्रो अभियानलाई समेत अझ बलियो बनाएको हुँदा यहाँहरुको निर्णयको स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछौ ।”
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस