अस्पतालको सामान बोक्ने गाडी समेत महानगरपालिकाको प्रदूषण जाँचमा फेल
काठमाडौं। अस्पतालको सामान बोक्ने गाडी समेत काठमाडौं महानगरपालिकाको प्रदूषण जाँचमा फेल भएको छ। काठमाडौं महानगरपालिका आईतबार ४० वटा सवारी जाँच गर्दा ३३ वटा प्रदूषणमा फेल भएका छन्। प्रदूषण जाँचमा फेल हुनेमा स्कूल बस, पर्यटक बोक्ने हायस, अस्पतालको सामान बोक्ने गाडी समेत रहेको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ।
त्यस्तै काठमाडौँ महानगरपालिकाले लगातार ५ दिने गरेको सवारी प्रदूषण जाँचमा १ सय २० वटा सवारी साधनमध्ये ६९ वटा फेल भएका छन् । यीमध्ये डिजेलबाट चल्ने ६३ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी साधन रहेको महानगरले जनाएको छ। जाँचका क्रममा १ सय वटा डिजेलबाट चल्ने र २० वटा पेट्रोलबाट चल्ने सवारी साधन परीक्षण गरिएको थियो । आईतबार टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका छन् । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदूषण मापदण्ड बाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन भेटिए । माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ । यससँगै अर्को पटकको चेकजाँचमा गल्ती दोहारिए जरिवाना गर्न सचेत गराइएको वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिइन्।
वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ । सडकमा गुड्ने अन्य सवारी साधनसँग आफैँले प्रयोग गर्ने सवारी साधनको गुणस्तरका लागि प्रशासन विभागले मातहतका विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई माघ ४ गते परिपत्र गर्दै अन्तर्गत सञ्चालनमा रहेका सवारी साधनको प्रदुषण जाँचपास गरेर हरियो स्टिकर राख्न तथा सवारी साधन दर्ता प्रमाण पत्र साथमै राख्न निर्देश गरेको छ ।
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैला संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । यो मापदण्ड २ पाङ्ग्रेबाहेकका अन्य सवारी साधनका हकमा २०५४ साल माघ १ गतेदेखि र २ पाङ्ग्रे सवारी साधनका हकमा २०५५ साल साउन १ गतेदेखि लागु भएको हो । चेकजाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदूषण मापदण्ड बाहिर हुन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस