३५ दिनपछि स्वास्थ्य सचिव को? सुरु भयो दौडधुप!


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल सरकारी सेवाबाट अलग्गिन अब ३५ दिन मात्रै बाँकी छ। फागुन १३ गतेबाट उनी सदाका लागि सरकारी सेवाबाट अलगिने छन्। उनीसँगै प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहले पनि सेवाबाट अवकाश पाउने छन्। इमानदार कर्मचारी अवकाशको १ महिना अगाडि बिदा बस्ने परिपाटी छ। स्वास्थ्यमा के गर्छन् त्यो हेर्न बाँकी छ । 

डा. रोशनको अवकाश मुखमा आएसँगै भित्रभित्रै सचिवका आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ। स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ डा. सङ्गीता कौशल मिश्रा, डा. विकास देवकोटा र डा. टङ्कप्रसाद बाराकोटी योग्य छन्। यी तीनमध्ये एक जनाले सचिवको बाजी मार्ने निश्चित छ। 

डा. सङ्गीता प्रमुख विशेषज्ञ भएको साढे २ वर्ष पुगेको छ। उनी सचिव भए साढे दुई वर्ष मात्रै नेतृत्व सम्हाल्न पाउनेछिन्। यता देवकोटा र बाराकोटी सचिव भए ३ वर्ष चलाउन पाउनेछन्। डा. सङ्गीता उनीहरु भन्दा ६ महिना सिनियर हुन्। स्वास्थ्य क्षेत्रमा तीनै जना आशा गरिएका व्यक्तिहरू हुन्। उनीहरूले स्वास्थ्यलाई सुधार गर्छन् भन्ने हामी एकरति पनि विश्वास गर्दैनौं तर, बिगार्दैनन् भन्नेमा ढुक्क छौं। 

डा. सङ्गीता, डा. विकास र डा. टङ्क सबै राजनीतिक पार्टीसँग राम्रो सम्बन्ध भएका कर्मचारी हुन्। पदका लागि पार्टीको झण्डा बोक्नु उचित हुँदैन भन्नेमा यी तिनै प्रस्ट छन्। उनीहरू भन्छन्, ‘नेतृत्व दिए राम्रोसँग अगाडि बढाउन सक्छौं।’, पछिल्लो समय स्वास्थ्यमा मन्त्री र सचिवको नेतृत्व गतिलो नपर्दा स्वास्थ्य क्षेत्र वर्षौं पछाडि धकेलिएको छ। मन्त्री खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्ने कर्मचारीका कारण स्वास्थ्य अहिले कोमामा छ। अब ३६ दिनपछि आउने सचिवले मन्त्रीका कुरा सुनेर काम गर्नेभन्दा पनि आफ्नो योजनासहित काम गरेर गति दिनुपर्ने देखिन्छ। अन्यथा भित्तामा सचिवको नाम लेखाउन मात्रै सचिव हुनुको अर्थ छैन।

सदस्य सचिव र सचिव भागबन्डामा !
राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव र स्वास्थ्य सचिवमा भागबन्डा हुने अनुमान अधिकारीहरूले लगाएका छन्
। ८ महिनापछि राखेपको सदस्य सचिव पद खाली हुँदैछ। 

चार वर्षका लागि नियुक्ति हुने सदस्य सचिव र स्वास्थ्यको सचिवमा भागबन्डा हुने कुरा सिंहदरबारभित्रै चल्न थालेको छ। सचिव आफू लिनुभन्दा सदस्य सचिव दिन फाइदा हुने अधिकारीहरू बताउँछन्। त्यसैले भागबन्डा भए कुन पार्टीको भागमा सचिव पर्छ यकिन गर्न कठिन छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ