अध्यादेशबाट शासन गरिरहेको सरकारले १८ गते संसद् बोलाउने निर्णय गऱ्यो
काठमाडौं। अध्यादेशबाट शासन गरिरहेको सरकारले १८ गते संसद् बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को हिउँदे अधिवेशन बनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते १ बजे आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो। अध्यादेश ल्याएर शासन चलाउन थालेपछि ओली सरकारको चर्को आलोचना भइरहेको छ। अध्यादेशको शासनमा नेपाली कांग्रेसको पनि समर्थन रहेपछि संसदीय व्यवस्थामाथि नै हुर्मत लिन थालेको टिप्पणी हुन थालेको थियो। विपक्षी दलहरुले संसद्को विशेष अधिवेशन बोलाउन हस्ताक्षर बुझाउने तयारी गरेपछि सरकारले हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो।
संसद्को वर्षे अधिवेशन भदौ ३० गते अन्त्य भएको थियो। त्यसपछि बल्ल नयाँ अधिवेशन बोलाउने निर्णय भएको हो। संसद् नबोलाउँदा कानुन निर्माणको जिम्मेवारी बोकेका सांसदहरु समेत बेरोजगार बनेका थिए। सरकारले संसद् बैठक आह्वान गर्न आलटाल गरेपछि सभामुख देवराज घिमिरे पनि असन्तुष्ट देखिँदै आएका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस