संसारकै शीर सगरमाथाको पैतालासम्म पुग्दाका अनुपम अनुभूतिहरू
काठमाडौं। संसारकै अग्लो चुचुरो सगरमाथाको आधार शिविरसम्म पाइला टेक्ने अभिलाषा राखेर अत्यावश्यक सामग्रीहरू सहितको ब्यागप्याक बोकी ट्रेकिङ्ग जुत्ता लगाएर हातमा दुइटा लठ्ठी समाएर घरबाट निस्केको पहिलो दिन त्रिभुवन विमानस्थलबाट हवाइमार्ग हुँदै विश्वकै जोखिमयुक्तमध्येको मानिएको २८०० मिटर उचाइमा अवस्थित तेन्जिङ हिलारी विमानस्थल, लुक्ला सोलुखुम्बु पुगियो। काठमाडौंको तुलनामा लुक्लाको उचाइ र बढ्दो चीसो समेतलाई ख्याल गरेर सो दिन लुक्लामा नै बासबसी भोलिपल्ट विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार समेत भनिने समुद्र सहतबाट ३५०० मिटरको उचाइमा अवस्थित हिमाली सुन्दर बस्ती नाम्चे बजार पुगियो।
दोश्रो दिन नाम्चे पुगेकै दिन खुम्बु क्षेत्रको फोहोर व्यवस्थापनको क्षेत्रमा निरन्तर सक्रिय रही प्रभावकारी उपस्थिति देखाएको सन् १९९१ मा स्थापित सगरमाथा प्रदूषण नियन्त्रण समिति (Sagarmatha Pollution Control Committee, SPCC) नामक समुदायमा आधारित गैरसरकारी संस्थाको कार्यालयमा पुगेर समसामयिक छलफल गरियो।
सो दिन नाम्चेमा नै रात बिताउने निर्णय गरी उक्त क्षेत्रमा अनुकूलनको लागि नाम्चे बजारभन्दा माथि लगभग १ घण्टाको उकालो यात्रापछि पुगिने ३७७५ मिटर उचाइमा रहेको स्वाङ्बोचे एयरपोर्ट (हाल सञ्चालनमा रहेको देखिएन) पुगियो। जहाँबाट नाम्चे बजारको पूरै दृष्य देखिन्छ। थामसेर्कु, कोङ्दे लगायतका मनमोहक हिमाली टाँकुराहरूको नजिकैबाट दृष्यावलोकन गर्नका लागि समेत स्वाङ्बोचे उपयुक्त स्थान रहेछ।
स्याङ्बोचे हवाइमैदानबाट माथि उक्लँदै जाँदा हिमाली वनस्पतिहरूको उचाइ भने घटेर बूट्यानमा सीमित भएको देखिन्छ। उचाइ बढ्दै जाँदा अक्सिजनको चाप घट्दै जाने तर हावाको वेग बढ्दै जाने रहेछ। चीसो हावाको वेगलाई पर्गेल्दै हामी नाम्चे बजारबाट २.५ घण्टाको निरन्तरको उकालो यात्रापछि संसारकै अग्लो स्थानमा अवस्थित होटल एभरेष्ट भ्यू (उचाइ ३८८० मिटर) मा पुग्यौँ। उक्त होटलबाट खुम्बु क्षेत्रमा रहेका सबैजसो हिमाली चुचुराहरूलाई नजिकैबाट प्रष्टसँग नियाल्न र हिमाली सौन्दर्यमा निमग्न हुन सकिन्छ। हामी पुग्दा स्फटिक झैँ सेतो टल्किएको दुनियाँकै सुन्दरतम् भनिने आमादब्लम हिमाल मध्यान्हको घाम तापेर मस्त मुस्काइरहेझैँ लाग्थ्यो। सर्वोच्च शिखर सगरमाथा भने हामीले अघाउँजी हेर्नै नपाई लजाएर घुम्टो ओढेझैँ गरी एक्कासी उडेर आएको बाक्लो कुहिरोभित्र बिलुप्त हुन पुग्यो।
रेकर्डहोल्डर होटलको बार्दलीमा बसेर एक भाँडो तातो कफी पिउँदै केही समय हिमाली टाँकुराहरूको दृष्यावलोनपश्चात १ घण्टाको पैदलयात्रा तय गरी ऐतिहाँसिक सुन्दर हिमाली गाउँ खुम्जुङ (३७९० मिटर) पुगियो। सर्वोच्च शिखर सगरमाथामा सन् १९५३ मा पहिलो पटक सफल आरोहणपश्चात् विश्वविख्यात बनेका आरोही एडमण्ड हिलारीले सन् १९६० मा चारैतिर हिमालै हिमालले घेरिएको सुन्दर हिमाली उपत्यकामा अवस्थित खुम्जुङ गाउँको बीचमा स्थापना गरेको उत्कृष्ट नतिजा दिन सफल खुम्जुङ स्कूलको खेलमैदानमा भलिबल खेलिरहेका विद्यार्थीहरू भेटिए। समयको गतिलाई २२ वर्षपछि फर्काएर केही क्षण स्कूले केटाकेटीसँग भलिबल खेलियो। विद्यार्थीहरूको हुलमा मिसिएर केही थान फोटासमेत खिचेपछि त्यहाँबाट १.५ घण्टाको हिँडाइपश्चात पुनः तल झरेर त्यसदिनको बसाइ नाम्चे बजारमै गरियो।
तेस्रो दिन बिहानको नास्ता नाम्चेमा गरेपछि कहिले उकालो र कहिले दूधकोशीसम्म ओरालो झर्दै र झोलुङ्गे पुलबाट वारी र पारी गर्दै खुम्बु क्षेत्रको सुरक्षार्थ पहरेदार भएर खडा भएकाजस्तो लाग्ने सेता हिमाल अनि रातै फुलेका गुराँश, बुकी र सेता चिमालका मनमोहक दृष्यका तस्वीरहरू कैद गर्दै हामी ५ घण्टाको यात्रा तय गरेपछि तेङ्बोचेको कठीन उकालो कटेर मनै हरर्र हुने सुन्दर गुम्बामा पुग्यौँ। हामी गोक्यो हिमतालतर्फ नउक्लिएर ३८६० मिटर उचाइमा रहेको सुन्दर तेङ्बोचे गुम्बाको बाटो हुँदै सगरमाथातर्फ सोझिएका थियौँ। केही क्षण भव्य गुम्बाको शान्त वातावरणमा सुस्ताएपछि हिमालको चीसो वतास झेल्दै र अनेकानेक रङ्गका गुराँशको मनमहोहक दृष्यपान गर्दै डाँडामा सुस्ताएपछि थप १ घण्टाको यात्रा तय गरेर त्यस दिनको बास तुलनात्मकरूपमा केही न्यानो लाग्ने सानो हिमाली गाउँ दिबुचेमा कटायौँ।
नाम्चेबाट उकालो लागेपछि नेपाल टेलिकमको फोन र इन्टर्नेट नचल्दो रहेछ। तर, जहाँ इच्छा त्यहाँ उपाय भने झैँ युजर नेम र पासवर्ड राखेर एउटा पोष्टपेड वाइफाइ कार्डबाट एउटा राउटरमा मात्र लगइन गरी २४ घण्टासम्म इन्टरनेट चलाउन मिल्ने एभरेष्ट लिङ्क र नेपाल एयर लिङ्क नामका कम्पनीबाट जारी भएको कार्ड किन्न पाइने रहेछ। सगरमाथाको आधार शिविरसम्म निःशुल्क वाइफाइ पुगेको भनी मन्त्रालयले सार्वजनिक गर्ने गरेको प्रगति विवरण र स्थलगतरूपमा भोगिएको वस्तुगत यथार्थबीचको फरकपनले मन अमिलो पार्दै चुपचाप वाइफाइ कार्ड किनेर आ-आफ्नो घर परिवारमा सम्पर्क गर्यौँ।
चौथो दिन काठमाडौंबाट हिँडेको चौथो दिनको यात्रामा बढ्दै गएको उचाइसँगै मुटुको धड्कन अनि थकाइको मात्रा चढ्दै गएको थियो। हाम्रो पाइलाको गति भने क्रमशः सुस्त बन्दै गएको थियो। अगाडि दुईवटा विकल्पहरू देखा परे। पहिलो, नदीको किरारै किनार क्रमशः अघि बढेर अलीअली उक्लिँदै ४२०० मिटरमा रहेको जोडसँग हावा चलिरहने दूधकोशी किनाराको बस्ती फेरिचेतर्फ अघि बढ्ने। दोश्रो, नदीमा झरेर काठे पूल तरी केही माथि उक्लिएर हिमालका खोँचहरूबाट बग्दै र साना ठूला हिमपहिराहरूलाई छिचोल्दै बिनाकुनै थकान अविरल ओरालै ओरालो झरिरहेको कञ्चन दूधकोशीको अर्को भङ्गालोतर्फ सोझिएर कहिले वारी त कहिले पारी तर्दै, फेरि उही नदीको खोँच र बगरमा लहरिँदै जाने। र, खुम्बु क्षेत्रमा रहेको ४४०० मिटरको उचाइमा एकातर्फ नदीको किनारा र अर्कोतर्फ नागार्जुन पर्वतको अडेसा लागेर बसेको सुन्दर, नाम्चेपछिकै ठूलो हिमाली बस्ती दिङ्बोचेतर्फ लाग्ने।
हामीले दोस्रो विकल्प रोज्यौँ। वनस्पतिको नाममा जमिनमै मिलेजस्तै देखिने केही बुट्यानबाहेक पूरै नाङ्गो देखिने दिङ्बोचेमा पुगेर बासको तय गर्यौँ।
हामीले आश्रय लिएको होटलको डाइनिङगमा गुइँठा बालेर तताइएको फलामे हिटर (पाटन औद्योगिक क्षेत्रबाट खरिद गरी हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो) ताप्न थाल्यौँ। हामी होटलभित्र बसेर साउनीले दिएको गार्लिक सुप पिउँदै गर्दा बाहिर बाक्लै हिउँ बर्सिरहेको थियो। बाक्ला बाक्ला कपडा लगाएपछि बाहिर निस्केर चारैतर्फ नजर दौडाउन थालियो। वरिपरीका नाङ्गा डाँडा, नागार्जुन पर्वतले पिठ्यूमा बोकेको जस्तो देखिने दिङ्बोचे गुम्बा अनि बस्तीबाट एकातर्फ थुक्ला र अर्कोतिर इम्जा हिमतालतर्फ सोझिएको बाटोसमेत सेताम्मे बनेको थियो।
पाँचौ दिन बिहानै नागार्जुन पर्वततर्फ उक्लिएका घोडाहरूको टाप पछ्याउँदै हामी पनि दिङ्बोचेबाट क्रमशः उक्लिन थाल्यौँ। उचाइसँगै श्वास पनि झन् झन् बढ्दै थियो भने पाइलाको गति भने सुस्तिँदै थियो। हामी आ-आफ्नो ब्याग प्याक पिठ्यूमा कसेर कछुवाको गतिमा क्रमशः माथि चढिरह्यौँ। त्यसबेला हामीले “शनै कन्था शनै पन्था शनैर्पवत लङ्घनम्…” भन्ने श्लोकलाई साँच्चिकै व्यवहारमा अवलम्बन गरेका थियौँ।
दिङ्बोचेमाथिको वनस्पतिबिहीन पर्वत चढिसकेपछि दूधकोशीसँग समानान्तर रहेर लमतन्न सुतेको ४५०० मिटरभन्दा माथिको उचाइमा रहेको लामो खर्क पार गर्न हामीलाई लगभग २.५ घण्टा लागेको थियो। दूधकोशी पारीपट्टि देखिएको ठाडो उकालोमा राता, पहेँला मान्छेहरू अनि जोक्प्यो र घोडाहरूको लामो लस्कर माथितिर चढ्न सङ्घर्ष गरिरहेकाजस्ता देखिन्थे। हामीलाई दूधकोशी तरेर छोटो दूरीमा रहेको लगभग ठाडै देखिएको थुक्लाको उकालोमाथि विजय प्राप्त गर्नु थियो। २ घण्टाको सङ्घर्ष गरेर हामी थुक्लाको थाप्लोमा पुगेपछि दर्जनौँको सङ्ख्यामा मृतकहरूको सम्झनामा निर्माण गरिएका स्मारकहरू देख्दा मुटु ढक्क फुलेको थियो। धड्कनको गति तीव्रतर बनेको थियो। थुक्लाको उकालोलाई घातक क्षेत्र मानिँदो रहेछ। ४८०० मिटर उचाइको हाराहारीमा रहेको छोटो दूरीको ठाडो उकालो भएको कारणले पनि उक्त उकालो चढ्न कठीन भएको हामीले अनुमान गर्यौँ। बढ्दो उचाइ र घट्दो अक्सिजनको मात्राको कारणले पनि दूधकोशीको बगरबाट उँभोतिर सोझिएको थुक्लालाई मृत्यु क्षेत्र ( Death Zone) भनिँदो रहेछ।
थुक्लाको शीरमा केही क्षण सुस्ताएर हिमाली यात्राको क्रममा मृत्युवरण गर्न पुगेका मृतकहरूप्रति मनमनै श्रद्धाञ्जली अर्पण गर्यौँ। बाक्लिँदै गएको हिउँको वर्षा र हिमाली हुरीले बढाएको चीसोले निरन्तर प्रहार गरी नै रहेको थियो। माथिबाट खसेर चैटिएका चुच्चा, नमिल्दा ढूङ्गाहरू बग्रेल्ती छरिएको बगरमा छाम्दै र पाइलाहरू सुस्तरी अगाडि चाल्दै लोबुचेतर्फ अघि बढिरह्यौँ। पिठ्यूमा भारी लादिएका र घाँठीमा घण्टीको माला लगाएका लामा लामा तीखा सिङ भएका हिमाली क्षेत्रमा सामान ढुवानी गर्ने भरपर्दो साधनको रूपमा प्रयोग गरिने जोक्प्योले ठेल्थे त कहिले हामी आफैँ छलिन्थ्यौँ। एकैछिन शेर्पाहरू घोडा दौडाउँदै आउँथे र क्षणमै बिलुप्त हुन्थे।
३ घण्टाको निरन्तर लम्किएपछि लोबुचे हिमालको फेदीमा ५/७ वटा होटलहरू मात्रै भएको हिमच्छेदित बस्ती देखियो। चीसो, थकान र अक्सिजनको कमीले लखतरान परेका हामी समुद्र सतहबाट ५०३० मिटरको उचाइमा अवस्थित त्यही सानो बस्ती लोबुचेमा त्यसदिनको बास बस्ने निर्णय पुग्यौँ। दिङ्बोचेमा खरिद गरेको वाइफाइ कार्डले फरक उचाइको लोबुचेमा काम गर्ने कुरै भएन। नेपाल टेलिकमको नेटवर्क र इन्टरनेट प्रगति विवरणमा मात्र सीमित भएपछि हामीले पुनः पोष्टपेड वाइफाइ कार्ड खरिद गरेर आ-आफ्नो मोबाइलमा इन्टरनेट जोडी अत्यावश्यक ठाउँमा सम्पर्क स्थापित गर्यौँ।
छैठौँ दिन यात्राकै सबैभन्दा महत्त्वपूर्ण दिन आज हामी हाम्रो यात्राको गन्तव्य, उचाइ चुम्न चाहने दुनियाँभरकै मान्छेले जीवनमा एक पटक पुग्ने चाहने ठाउँ, विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा निकुञ्जभित्र महत्त्वपूर्ण क्षेत्र, संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा (उचाइ ८८४८.८६ मिटर), ८५१६ मिटर अग्लो ल्होत्से लगायतका हिमालहरू आरोहण गर्नको गर्नको लागि पर्वतारोहीहरूले महिनौँदेखि आश्रय लिएर बसेको आधार शिविरतर्फ जाँदै थियौँ। बढ्दो उचाइसँगै अक्सिजन त कम हुँदै थियो तर हाम्रो रोमाञ्चकता भने झनै चुलिँदै गयो।
लोबुचेबाट लगभग तीन घण्टा हिँडेपछि ५१६४ मिटरमा रहेको खुम्बु क्षेत्रकै सबैभन्दा माथिल्लो उचाइमा अवस्थित अन्तिम बस्ती गोरक्सेप पुगेर एकछिन थकाइ मार्यौँ। गोरक्सेपबाट खुम्बु हिमनदीलाई दायाँ र सगरमाथाको दृष्यावलोकन लागि प्रख्यात भिरालो चउरको रूपमा देखिने कालापथ्थरलाई बाँया पारेर हामी अगाडि बढ्यौँ। अगाडि देखिएका अग्ला अग्ला हिमालहरूको मनमोहक दृष्यलाई क्यामेरामा कैद गर्दै र नजिकै एकनासले बगिरहेको हिमनदीको गर्जनलाई सुन्दै बडे बडे हिमपहिरोको कारण बनेको पाइला चाल्न पनि ठाउँ खोज्नुपर्ने ढुङ्गीन बगर पार गर्दै हामी आधार शिविरतर्फ लम्कियौँ।
परैबाट राता, पहेँला, सेता, गुम्बज आकारका साना ठूला सयौँ टेन्टहरूले भरिएको पालको बस्तीजस्तो प्रतीत हुने आधार शिवर देखिन थाल्यो। सोही बस्तीतर्फ सोझिएको पिठ्यूमा झोला बोकेका यात्रुहरूको लामो लस्कर पनि निरन्तर अघि बढि नै रहेको देखिन्थ्यो। हिमाल, हिमनदी, खुम्बु आइसफल, रङ्गीचङ्गी आधार शिविर र मान्छेहरूको लस्करले कोलाजमय देखिएको उक्त अद्भूत दृष्यलाई क्यामेरा कैद गरियो।
ठूला-साना हिमतालहरू, हिमनदी, ठूलठूला बरफका नीला देखिने ढिक्कामाथि हिमपहिरोको साथमा खसेका बग्रेल्ती ढुङ्गा र गेगरनले पुरिएको स्थानमा मान्छेहरूको पदचाप पछ्याउँदै हामी ५३६४ मिटर उचाइमा अवस्थित सगरमाथा आधार शिविर लेखिएको ढुङ्गोमा पुगेर तस्वीर खिचायौँ।
उक्त स्थानबाट सगरमाथाको आधार शिविर शुरू हुँदोरहेछ! त्यहाँबाट शुरू भएर माथि खुम्बु आइसफलसम्म फैलिएको आधार शिविरमा क्याम्प खडा गरेर बसेका पर्वतारोहण व्यवस्थापन कम्पनीहरू, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाली सेना र पर्यटन विभागको आ-आफ्नै टेन्टहरू भेटिए। त्यसपश्चात् हामीले आश्रय लिने तय गरिएको टेन्ट खोज्दै लगभग खुम्बु आइसफलकै छेउसम्म पुगियो। टेन्टमा पुगेर झोला बिसाएर एकछिन थकाइ मारियो।
सगरमाथा आधार शिविरमा भएको छलफलः
आधार शिविर वरिपरिको केही तस्वीरहरू खिचेपछि एजेन्सीका कर्मचारीहरू, नेपाली सेनाको तर्फबाट शिविरमा खटिएका कर्मचारी, दुई पटक सगरमाथाको सफल आरहणसमेत गरिसकेका र उक्त सिजनमा १ महिनाभन्दा लामो समय सरकारी प्रतिनिधिको रूपमा आधार शिविरमा खटिएका सम्पर्क अधिकृत उपसचिव खिमलाल गौतम, हिमाल आरोण सकेर फर्किएका आरोहीहरू, शेर्पा, गाइड, उद्धार कार्यमा संलग्न व्यक्तिहरू र अन्य सहयोगीहरूसँग खुम्बु क्षेत्रमा सरकारको उपस्थिति, हिमाल आरोहण व्यवस्थापन, फोहोर व्यवस्थापन, हवाई उद्धार कार्य र यसको जटिलता, आरोहण दलमा तोकिएका सम्पर्क अधिकृतहरूको प्रभावकारिता र अनुगमनको वस्तुगत अवस्था, सगरमाथा आधार शिविरको अवस्थिति र बढ्दो मानवीय गतिविधिबाट सगरमाथा आधार शिविरको हिमाली पर्यावरणमा पर्न गएको नकारात्मक प्रभाव, खुम्बु क्षेत्रमा मोबाइल फोनको नेटवर्क र निःशुल्क भनिएको नेपाल टेलिकमको वाइफाइमा देखिएको समस्या लगायतका यावत सवालहरूमा छलफल भएको थियो।
संसारकै शीर सगरमाथाको संरक्षण र उपयोगका लागि केही सुझावहरूः
क) सगरमाथा आधार शिविर व्यवस्थापन
सगरमाथाको हालको आधार शिविरको अवस्थिति ठूला-साना हिमतालहरू, खुम्बु हिमनदी, ठूल्ठूला बरफका नीला देखिने ढिक्कामाथि हिमपहिरोको साथमा खसेका बग्रेल्ती ढुङ्गा र गेगरनले पुरिएको स्थानमा ५३६४ मिटरको उचाइमा रहेको छ। यस्तो संवेदनशील क्षेत्रमा सयौँको सङ्ख्यामा क्याम्पहरू खडा गरेर हजारौँ व्यक्तिहरू दुई महिनाभन्दा लामो समयसम्म बस्दा, बरफमाथि ९ वटा भन्दा बढी हेलिप्याडहरू निर्माण गरी दर्जनौव पटक हेलिकप्टरहरू उडान र अवतरण गर्दा सुरक्षाको दृष्टिकोणले ठूलो जोखिम रहेको तथा पर्यावरणीय दृष्टिकोणले समेत ठूलो क्षति पुगिरहेको देखिएकोले आधार शिविरलाई प्राविधिक अध्ययन गरी हाल हिउँ पग्लिसकेको क्षेत्र (कालापथ्थर र गोरक्सेपको बीच) मा तुरुन्तै स्थानान्तरण गर्न उपयुक्त हुने।
हाल सगरमाथा आधार शिविर क्षेत्रमा नै ९ वटाभन्दा बढी हेलिप्याड रहेको, आरोहीहरूले आरोअनको क्रममा क्याराभान मार्गको प्रयोग नगरी क्याम्प दोस्रो र तेस्रोसम्ममा समेत हेलिकप्टरको प्रयोग गरेको सुनिन आएकोले उद्धारकार्यको लागि बाहेक अन्य प्रयोजनका लागि आधार शिविरमा हेलिकप्टर अवतरण गर्न, पहिलो र दोस्रो क्याम्पसम्म उडान गर्न अनुमति प्रदान नगर्ने र सो प्रयोजनका लागि प्राविधिक अध्ययन गरी ३ वटाभन्दा बढीको सङ्ख्यामा नहुने गरी, आइसबर्गमाथि नपर्ने गरेर मात्र अस्थायी हेलिप्याड तोक्न मनाशिव हुने।
ख) सम्पर्क अधिकृत व्यवस्थापन
विश्वसम्पदा सूचीमा समेत सूचीकृत रहेको सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्ने खुम्बु क्षेत्रमा पर्वतारोहणको अनुमति प्राप्त आरोहीदलसँग समन्वय, सहजीकरण, सुरक्षा, हवाइ उद्धार, ड्रोनको अनुमति र हिमाली क्षेत्रमा हुने गरेका सबैखालका गतिविधिहरूको अनुगमन गर्ने कार्यको लागि सम्पर्क अधिकृत खटाउँदा आरोहण अवधिभर सम्बन्धित हिमालको आधार शिविर क्षेत्रमा तोकिएको न्यूनतम् सङ्ख्यामा सम्पर्क अधिकृतहरूको उपस्थिति सुनिश्चित हुने गरी नेपाल सरकारका उपसचिवको नेतृत्वमा प्रशासन, नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्ययन, सम्बन्धित स्थानीय तहका कर्मचारी र मेडिकल अधिकृतसमेत सदस्य रहने गरी संयुक्त अनुगमन टोली बनाई छुट्ठै क्याम्प खडा गरी एउटा टोली १५ दिन बस्ने गरी सम्पर्क अधिकृतहरूको व्यवस्थापन गर्न उपयुक्त हुने।
सम्पर्क अधिकृतहरूलाई उपलब्ध गराउने इक्विपमेन्ट र भ्रमण भत्तावापत पाउने रकमको सम्बन्धित एजेन्सीसँग सोझै बुझेर लिने परिपाटीबाट समग्र सरकार र सरकारी कर्मचारीहरूकै गरिमामा आँच आउनसक्ने देखिएकोले सोवापतको रकम एजेन्सीबाट पर्यटन विभागमा दाखिला गरी गराइ विभागबाट सम्पर्क अधिकृतको बैङ्क खातामा दाखिला गर्ने प्रबन्ध गर्न उपयुक्त हुने।
ग) आरोहण अनुमति पुनरावलोकन
सगरमाथाको गरिमालाई उचो बचाउन, हिमाली पर्यावरणलाई जोगाउन र आरोहीको प्रभावकारी अनुगमन गर्न, उद्धारलाई प्रभावकारी बनाउन र मुलुकखे गरिमाको रूपमा संसारभर चिनिएको, पर्यटकीय आकर्षणको केन्द्र सगरमाथामाथि भएको मानवीय शोषणलाई कम गरी आराम दिनको लागि समेत कम्तिमा ८ हजार मिटर उचाइका कम्तिमा १ हिमालको सफल आरोहण गरेको आरोहीलाई मात्र तोकिएको सङ्ख्याको शेर्पाको साथ र आवश्यक सङ्ख्यामा अक्सिजन सिलिण्डरबिना सगरमाथा आरोहण गर्ने अनुमति नदिने व्यवस्था गर्न उपयुक्त हुने।
घ) खुम्बु क्षेत्र नियमन र ड्रोनको व्यवस्थापन
सगरमाथा आधार शिविरमा आरोहण दल, शेर्पा, गाइड, अन्य सहयोगी, सम्पर्क अधिकृतबाहेक अन्य स्वदेशी तथा विदेशी पर्यटकहरूलाई आधार शिविर क्षेत्रको पर्यावरणीय संवेदनशीलता, स्वास्थ्य-सुरक्षा जोखिम समेतको आधारमा राती बास बस्न निषेध गरी टायमकार्ड तोकेर मात्र संयुक्त अनुगमन टोलीबाट आधार शिविर भ्रमणको अनुमति प्रदान गर्ने प्रबन्ध गर्न उपयुक्त हुने।
हाल खुम्बु क्षेत्रमा सरकारको उपस्थिति महशुस गर्न नसकिएको, नियमन र अनुगमन समेत प्रभावकारी हुन नसकेको, निषेधित क्षेत्रमा जथाभावी ड्रोनको उडान, अनधिकृत प्याराग्ल्याइडिङ उडानसमेत गर्नेगरेको सोको अनुगमन गरी कारबाहीको दायरमा ल्याउन नसकेको भन्ने गुनासो सुनिन आएको सन्दर्भमा नवीनत् प्रविधिको उपयोगमा पूर्णतः प्रतिबन्ध लगाउन सम्भव र मुनाशिव समेत नहुने हुँदा माथि उल्लिखित संयुक्त अनुगमन टोलीलाई नै खुम्बु क्षेत्रमा ड्रोन उडानको लागि प्रयोजन र अवधि तोकेर औचित्यताको आधारमा अनुमति दिने र सोको अनुगमन गरी अनधिकृत गतिविधि गरेको खण्डमा ड्रोनलाई नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिश गर्ने अधिकार दिन उपयुक्त हुने। हिमालको गरिमा र सुरक्षा जोखिमलाई मध्यनजर गरी सगरमाथा आधार शिविर र अन्य कुनै पनि क्याम्पबाट प्याराग्लाइडिङ उडानको अनुमति दिन नहुने व्यवस्था गर्न उपयुक्त हुने।
ङ) खुम्बु क्षेत्रको फोहोरमैला व्यवस्थापन
आधार शिविर क्षेत्रदेखि सगरमाथा लगायत खुम्बु क्षेत्रका अन्य हिमालहरूमा आरोहणको क्रममा प्रयोग गरिएका सामग्रीहरू, अक्सिजन सिलिण्डर, खाद्य सामग्रीको अवशेष, मानव मलमुत्र, आरोहणको क्रममा दुःखद् मृत्यवरण गर्न पुगेका मृत मानव शरीर, विभिन्न क्याम्पमा आरोहीहरूको आश्रयका लागि टाँगिएका टेन्टहरू, डोरी, भर्याङ्ग समेतका ठोस तथा तरल फोहोरहरू सम्बन्धित आरोहण व्यवस्थापन गर्ने कम्पनीले नै सम्बन्धित आधार शिविरमा सङ्कलन गरी सोको प्रकृति, परिणाम र व्यवस्थापन गर्ने तरिकाको बारेमा आरोहण समाप्त भएको ३ दिनभित्र संयुक्त अनुगमन टोलीलाई प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गर्न उपयुक्त हुने।
एजेन्सीबाट पेश हुन आएको फोहोरमैला व्यवस्थापन प्रतिवेदनको अध्ययन र आवश्यकता अनुसार स्थलगत निरीक्षणसमेत गरी अनुगमन टोलीले फोहोरमैलाको उचित व्यवस्थापन गरेको सिफारिश गर्नुपर्ने प्रबन्ध गर्ने। आफ्नो टोलीले उत्पादन गरेको फोहोरमैलाको उचित व्यवस्थापन नगरेको पुष्टि भएमा सम्बन्धित आरोहण व्यवस्थापन कम्पनीलाई कालोसूचीमा राखी उक्त फोहोर व्यवस्थापन गर्न लाग्ने खर्च असुल गरी कम्तिमा आगामी दुई सिजनसम्म आरोहण व्यवस्थानको अनुमति नदिने प्रबन्ध गर्न उपयुक्त हुने।
च) खुम्बु क्षेत्रको मोबाइल नेटवर्क, डाटा र निःशुल्क वाइफाइ
सगरमाथा आधार शिविरसम्ममा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी कम्पनी एनसेलको मोबाइल नेटवर्क, डाटा (फोरजी) को पहुँच पुगेको र सगरमाथा आधार शिविरमा निःशुल्क वाइफाइ उपलब्ध गराइएको सरकारी प्रगति विवरणमा उल्लेख गरिएको पाइए तापनि आरोहण सिजन शुरू भएपछि जिम्मेवार व्यक्तिहरूले उक्त क्षेत्रमा वाइफाइ सुविधाको लागि पोष्टपेड कार्ड बिक्री गर्ने एभरेष्ट लिङ्क र नेपाल एयर लिङ्क समेतका निजी कम्पनीहरूबाट अनुचित फाएदा लिई मनशायपूर्वक नेपाल टेलिकम लगायतको उल्लिखित नेटवर्क, डाटा र निःशुल्क वाइफाइको कनेक्सन टुटाउने गरेको गम्भीर गुनासो सेवाग्राहीबाट सुन्न आएको थियो। हामी स्वयम्ले समेत नाम्चेभन्दा माथि लागेपछि सगरमाथा आधार शिविरमा समेत नेपाल टेलिकमको नेटवर्क, फोरजी र निःशुल्क वाइफाइ सेवा उपयोग गर्न नपाई अन्य कम्पनीको पोष्टपेड कार्ड खरिद गरी इन्टरनेट चलाउनु परेको थियो। उक्त विषयमा सत्यतथ्य छानबीन गरी दोषी देखिएमा हदैसम्मको कानूनबमोजिम कारबाही गर्न र सगरमाथा आधार शिविरसमेत खुम्बु क्षेत्रमा मोबाइल नेटवर्क, डाटा र निःशुल्क वाइफाइको लागि सरकारी कम्पनीको गुणस्तरीय सेवाको सुनिश्चितता प्रदान गरिनु अयावश्यक देखिन्छ।
छ) आरोहण रोयल्टीको पुनरावलकोन
सर्वोच्च शिखर सगरमाथाको गरिमा बढाउन र सगरमाथालाई सस्तो हुन नदिनका लागि समेत सगरमाथा आरोहणको अनुमति प्राप्त गर्नको लागि तिर्नुपर्ने रोयल्टी रकममा आवश्यक पुनरावलोकन गरी चीनतर्फबाट आरोहण गर्दा बुझाउनु पर्ने रोयल्टी रकमभन्दा कम नहुने प्रबन्ध गर्ने। अन्य हिमालहरूको हकमा समेत सोही अनुपातमा रोयल्टी रकमको पुनरावलोकन गर्न उपयुक्त हुने।
ज) आरोहण सहयोगी कल्याणकारी कोष स्थापना
सगरमाथा लगायतका हिमाल आरोहणवापत् प्राप्त हुने रोयल्टी रकमको निश्चित प्रतिशत आरोहणण सहयोगी कल्याणकारी कोषमा जम्मा हुने व्यवस्था गरी हिमाल आरोहणमा संलग्न शेर्पा, गाइड, भरिया र अन्य सहयोगीहरूको लागि आवश्यक तालिम, स्वास्थ्य उपचार, सन्ततिको स्वास्थ्य, शिक्षामा उपयोग गर्ने व्यवस्था मिलाउन मनाशिव हुने।
झ) पर्यटकीय सम्भावनाको महत्तम उपयोग
समुद्र सहहबाट ५ हजार मिटरभन्दा बढी उचाइमा रहेका हिमरेखामाथिको क्षेत्रमा हिमाल आरोहणको नाउँमा सयौँको सङ्ख्यामा टेन्ट टाँगेर महिनौँ बस्ने अनुमति दिँदा पर्यावरणीय दोहन, मानवीय सुरक्षा जोखिम, हिमालमाथिको मानवीय शोषण बढेको हुँदा सम्भाव्यता अध्ययनका आधारमा निश्चित मापदण्ड बनाई जमेको हिउँ नभई बगर वा खाली ठाउँको रूपमा रहेका हिमाली सौन्दर्यको नजिकैबाट अवलोकन गर्न सकिने स्थानहरूमा निश्चित अवधि तोकी अत्याधुनिक, सुविधा सम्पन्न, अक्सिजन र तापक्रम समेत अनुकूलन हुने खालका सात/दश तारे होटलहरू निर्माण गर्नको लागि तोकिएको क्षेत्र लिजमा उपलब्ध गराउने। त्यसबाट हिमालको गरिमा बढ्ने, गुणस्तरीय पर्यटक भित्रिने र प्रकृतिको अनुपम उपहारको रूपमा प्राप्त हिमाली सौन्दर्यबाट मुलुकले मनग्गे आम्दानी गर्नसक्ने देखिएकोले सो सम्बन्धमा समेत आवश्यक अध्ययन गरी पर्यटकीय सम्भावनाको आधारमा नीतिगत निर्णय हुन मनाशिव हुने।
क्याटेगोरी : विचार, विविध
तपाईको प्रतिक्रिया दिनुहोस