ओम अस्पतालको पर्खाल मात्र होइन भवन समेत अवैध


काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला बगरमा बनेको ओम अस्पतालको कम्पाउन्डवाल (पर्खाल)मा डोजर चलायो। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा रहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा अतिक्रमण गरेर बनाएको ओम अस्पतालको अवैध पर्खालमा डोजर लगाएको हो।

धोबीखोला- बागमती करिडोर विकासमा महत्त्वपूर्ण भूमिका खेलेका प्रकाशमान सिंह कै नेतृत्व सहरी विकास मन्त्रालय आउनु र काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरलाई व्यवस्थित गर्न सुरुवात गर्नुले एउटा उत्साह देखिएको छ। सिंहको नेतृत्वमा धोबीखोला करिडोर क्षेत्रमा भइरहेको अतिक्रमण हटाउने कामलाई जनस्तरबाट समेत सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

ओम अस्पताल जग्गा कारोबार टंक श्रेष्ठहरुको लगानीमा सञ्चालित छ। मालपोतको खरिदारबाट जागिर छाडेर जग्गा कारोबारमा सक्रिय भएका श्रेष्ठ र अन्य चर्चित चिकित्सकहरू मिलेर खोलेको ओम अस्पतालको कम्पाउण्डभित्र साबिक धोबीखोला बगर उल्लेख भएको सरकारी जग्गा घुसेको देखिन्छ। त्यहीँ भएर काठमाडौं उपत्यका विकास प्राधिकरणले ओम अस्पतालमा डोजर चलाएको हो। ओम अस्पताल सहकारी ठगीको मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री रवि लामिछानेका ससुरा उद्धव पौडेल समेत जोडिएको अस्पताल हो।

अस्पताल, विद्यालय, कलेज, नर्सिङ्ग होम, संयुक्त/सामूहिक आवास, मनोरन्जन स्थललगायतले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ। तर, ओम अस्पताल प्राधिकरणबाट प्लानिङ परमिट समेत लिएको पाइँदैन। काठमाडौं उपत्यका विकास प्राधिकरणसँग स्वास्थ्य लाइभले बुझ्दा ओम अस्पतालले भवन बनाउँदा प्राधिकरणबाट योजना अनुमति लिएको देखिएन। प्राधिकरणबाट स्वीकृति नलिइ बनाइएका अस्पतालका संरचना अवैध हुन्। त्यस्ता अवैध संरचना भत्काउने अधिकार समेत काठमाडौं उपत्यका विकास प्राधिकरणसँग हुन्छ। ओम अस्पतालको अवैध संरचनामा डोजर चलाउन अधिकार समेत काठमाडौं उपत्यका विकास प्राधिकरणसँग रहेको छ।

जग्गा प्लटिङ्ग, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय, सभा सम्मेलन भवन, सांस्कृतिक समारोह तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेज, नर्सिङ्ग होम, संयुक्त वा सामूहिक आवास, मनोरञ्जन स्थल निर्माण गर्नका लागि अनिवार्य रुपमा प्राधिकरण वा सम्बन्धित जिल्ला आयुक्तको कार्यालयबाट योजना अनुमति लिन प्राधिकरणले पटकपटक सचेत गराउँदै आएको देखिन्छ। तर, ओम अस्पताललगायतले उक्त कानुनको पालना गरेको देखिँदैन।

काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरमा सरकारी जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन समेत माइकिङ गर्न थालेको छ। प्रकाशमान सिंहको नेतृत्वमा रहेको अधिकारसम्पन्न काठमाडौं उपत्यकाका विकास प्राधिकरणले त्यो क्षेत्रका सरकारी/सार्वजनिक/ऐलानी जग्गा अतिक्रमण गरेर बनाएका अवैध संरचना हटाउन सक्रियता देखाएसँगै काठमाडौंका सरकारी जग्गा संरक्षण हुने आशा पलाउन थालेको छ। उक्त काममा सिंह नेतृत्वको प्राधिकरण कतिको सफल हुन्छ हेर्न बाँकी छ।

क्याटेगोरी : समाचार
ट्याग : #ओम अस्पताल, #ओम अस्पतालका सञ्चालक टंक श्रेष्ठ, #काठमाडौं उपत्यका विकास प्राधिकरण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ