राजेन्द्र बजगाईंदेखि विशाल पण्डितसम्मले सञ्चालन गरेका बुटिक होटल अवैध
काठमाडौं। प्रतिनिधिसभाका सदस्य ( सांसद) राजेन्द्र बजगाईंदेखि मेडिकल व्यवसायी विशाल पण्डितसम्मले चलाएका बुटिक होटल अवैध रहेको पाइएको छ। सांसद बजगाईंको वर्णवास म्युजियम होटल प्रालि काठमाडौंदेखि चर्चित मेडिकल व्यवसायी विशाल पण्डितको लगानीमा सिंहदरबारलाई नै सुरक्षा थ्रेड हुने गरी बनाइएको बसेरा बुटिक होटल अवैध रहेको पाइएको हो।
काठमाडौं उपत्यकाभित्र होटल बनाउँदा काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति (प्लानिङ परमिट) लिनुपर्ने हुन्छ। वर्णवास, बसेरालगायतका कुनै पनि बुटिक होटलले प्राधिकरणबाट योजना अनुमति नै लिएको पाइँदैन।
पर्यटन विभागका अनुसार काठमाडौं उपत्यकामा ९ वटा बुटिक होटलहरू छन्। त्यसमध्ये ८ वटा त काठमाडौंमै रहेका छन्। ललितपुरमा एउटा बुटिक होटल रहेका छन्। ती बुटिक होटलहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग योजन अनुमति नै नलिई अवैध ढंगले सञ्चालन भइरहेको तथ्य फेला परेको हो। अझ् अवैध बसेरा बुटिक होटलमा त प्रधानमन्त्री केपी शर्मा ओलीले नै कार्यक्रम राख्ने गरेका छन्। अवैध होटलमा प्रधानमन्त्री, मन्त्री, सचिवलगायत उच्च पदस्थ जाने गर्दा प्राधिकरण निरीह बन्दै आएको छ।
पर्यटन विभागमा दर्ता भएका बुटिक होटलमा राजेन्द्र बजगाईंको वर्णवास म्युजियम होटल, विशाल पण्डितको इमिरो प्लाजा प्रालि (बसेरा बुटिक होटल), बबरमहल, अम्बिका श्रेष्ठ समेतको लगानी रहेको द्वारिकाज् काठमाडौं भिलेज होटल प्रालि बत्तिसपुतली र लाजिम्पाटस्थित राजिवदास श्रेष्ठ समेतको लगानीमा खुलेको होटल मनास्लु प्रालि रहेका छन्। त्यस्तै बुटिक होटलमा राधेश्याम थापा समेतको लगानीमा सञ्चालित होटल पबेरा प्रालि (पबेरा बुटिक होटल) बुढानिलकण्ठ, ठमेलस्थित हेमबहादुर गुरुङ समेतको लगानी रहेको होटल मनाङ प्रालि र महेन्द्ररत्न शाक्यको एकल स्वामित्वमा रहेको सूर्य हेरिटेज होटल रहेको छ। त्यसैगरी रोमी अर्यालको लगानीमा खुलेको ललितपुर स्ववेयर होटल पनि बुटिक होटल कै रूपमा दर्ता रहेको देखिन्छ।
वर्णवास, बसेरा र द्वारिकाज् पाँचतारे बुटिक होटल हुन्। पबेरा, मनास्लु र मनाङ चारतारे बुटिक होटल हुन्। सर्यू हेरिटेज तीनतारे हेरिटेज बुटिक होटल हो। यी कुनै पनि बुटिक होटलले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति लिएको देखिँदैन।
काठमाडौं उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त ई. सुवास बस्नेतले काठमाडौं उपत्यकामा होटल बनाउँदा अनिवार्य रूपमा प्राधिकरणबाट योजना अनुमति स्वीकृत हुनुपर्ने बताउँछन्। तर, स्वास्थ्य लाइभको खोजीमा राजेन्द्र बजगाईंदेखि विशाल पण्डितसम्मले खोलेको बुटिक होटलले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नै लिएको पाइँदैन।
काठमाडौं उपत्यकामा विकास प्राधिकरण काठमाडौं उपत्यकालाई योजनाबद्ध रूपमा विकास गरी जनसाधारणलाई आवश्यक सेवा सुविधा पुऱ्याउन भौतिक विकास योजना तर्जुमा र कार्यान्वयन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अनुसार स्थापित संस्था हो। उक्त प्राधिकरणको अनुमति लिएर मात्र ठूला होटल निर्माण गर्न सक्ने कानुनी प्रावधान छ। तर, पाँचतारे होटल मर्क्योर र होटल लेमन ट्री प्रिमियरले प्राधिकरणबाट योजना अनुमति नै नलिई अवैध रुपमा भवन निर्माण गरेर होटल सञ्चालनमा ल्याएको हो।
योजना अनुमति नलिएका होटलहरुलाई भत्काउन आदेश दिन सक्ने समेत प्राधिकरणसँग अधिकार रहेको छ। त्यसरी संरचना भत्काउँदा लागेको खर्च समेत सम्बन्धित संस्थाले व्यहोर्नु पर्ने प्रावधान छ। काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति नलिई गरिएको काम र बनाएको संरचनालगायतका सम्पत्ति कुनै व्यहोराले हक छाडिदिन वा किनबेच, अंशबण्डा गर्न, बैंक तथा वित्तीय संस्थालाई धितो बन्दकी दिन नपाउने गरी रोक्का राख्न सम्बन्धित मालपोत कार्यालयमा लेखी पठाउने अधिकार समेत प्राधिकरणसँग रहेको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##विशाल पण्डित, #काठमाडौं उपत्यका विकास प्राधिकरण, #पबेरा हेरिटेज बुटिक होटल, #बसेरा बुटिक होटल, #मनाङ बुटिक होटल, #मनास्तु बुटिक होटल, #राजेन्द्र बजगाईं सांसद, #वर्णवास म्युजियम बुटिक होटल
तपाईको प्रतिक्रिया दिनुहोस