पाथीभराको काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन युवाहरुको चेतावनी
काठमाडौं। केवलकार विपक्ष आन्दोलनरत पक्षले ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने नाममा मुकुम्लुङको सभ्यता मास्न खोजेको भन्दै विरोध जनाएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवाहरुले तत्काल काफ्लेपाटीबाट सशस्त्रको क्याम्प हटाउन सरकारसमक्ष माग गरेका छन्।
आन्दोलनरत पक्षका अगुवा मेघराज थापाले ताप्लेजुङका सिडिओ नेत्रप्रसाद शर्मालाई कसको आडमा जनताको छातीमा गोली हान्न आदेश दिएको भन्दै प्रश्न तेर्साए। उनले भने,‘म यहाँबाट सिडिओ नेत्रप्रसाद शर्मालाई चूनौति दिन्छु-कुन शक्तिको आडमा प्रहरीलाई, सशस्त्र प्रहरीलाई निर्देशन दिएर गोली हान्न भन्नुभयो? हाम्रो धर्म, सम्पदा र संस्कृति जोगाउँछु भन्दा हामीले गोली खानुपर्ने? पाथीभरा नेपालको सम्पत्ति होईन? राज्यले संरक्षण गर्ने दायित्व हुँदैन? जनताले संरक्षणको आवाज उठाउँदा गोली हान्ने? सांस्कृतिक सम्पदा बचाउँछु भन्न नपाउने? सिडिओलाई कारबाही गरियोस्। म क्षतिपूर्तिको माग गर्न चाहन्छु।’
सो क्रममा उनले आन्दोलनको क्रममा राज्य पक्षको दमनबाट घाइते भएकाहरुको जीवन रक्षाको माग गरे। उनले पाथीभरामा केवलकार बनाउने चन्द्र ढकाललाई त्यहाँबाट निस्किन चूनौतिसमेत दिए। उनले भने,‘यो सरकार आम जनताको चिन्ता लिँदैन्। काफ्लेपाटीमा राखिएको सशस्त्र क्याम्प हटाईनुपर्छ। पाथीभराजस्तो पवित्रस्थलमा व्यापारीको आँखा परेको छ। विकासको नाममा चरम विनाश भैरहेको छ। हामीलाई स्विकार्य छैन्।’
अर्का वक्ता होम मगरले पनि मुकुम्लुङ ऐतिहासिक स्थल भएकोले यसको संरक्षण गर्नुपर्ने सबैको दायित्व भएको बताए। मगरले केवलकारको नाममा आफूहरुको सभ्यता समाप्त पार्न नदिने अडान लिए। उनले केपी ओली सत्तामा हुँदा रैथाने धरोहरमाथि प्रहार हुने गरेको पनि आरोप लगाए।
उनले भने,‘केपी ओलीले देशको नेतृत्व लिँदा रैथाने धरोहरमाथि प्रहार भएको छ, गुठी, खुवालुङ हुँदै अहिले पाथीभरा (मुकुम्लुङ) मा नजर परेको छ । साम, दाम, दण्ड, भेद लगाएका छन्। पाथीभरा बचाउँछु भनेर प्रत्येक नेपालीले भूमिका खेल्ने बेला आयो। आइएमई ग्रुपको यो दुस्प्रयासको मूल्य ७ पुस्ताले चुकाउनुपर्छ। हामी अब आइएमइ बैंक बहिष्कार गर्छौं। हामी ब्रिटिश सेनासँग लडेको मान्छे हौं। हामीलाई खेलाँची नठानियोस। पाथीभराको आँशुले तपाईंहरुलाई पोल्नेछ। केपी ओली सरकारलाई पनि पोल्नेछ।’
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस