अरूण गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरू
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/Messenger_creation_B2DAA55E-5564-4496-B5EE-69E2D42B7D05.jpg)
काठमाडौं। भोजपुरको अरुण गाउँपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरू भएको छ। गाउँपालिका भवन बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै ठेकेदार कम्पनी दिला निर्माण सेवाले प्रशासनिक भवन निर्माणको काम सुरू गरेको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नृपध्वज निरौलाको इजलास गाउँपालिका भवन निर्माण गर्ने निर्णयविरुद्ध हालेको रिट खारेज गरिदिएसँगै शनिबारबाट ठेकेदार कम्पनी स्काभेटर लिएर फिल्डमा उत्रिएको हो।
सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाले अरुण गाउँपालिकास्थित प्याउलीको मऱ्याङडाँडामा भवन निर्माणको ठेक्का आह्वान गरेपछि होम बहादुर श्रेष्ठ र दुर्गा कार्की रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। तर, सर्वोच्च अदालतले अरुण गाउँपालिकाको प्रशासन भवनविरुद्ध परेका सबै रिट खारेज गरिदिएको छ। अब भने अरूण गाउँपालिकालाई प्रशासनिक भवन निर्माण गर्नेदेखि त्यो ठाउँमा अन्य विकासका पूर्वाधार तयार गर्न बाटो खुला भएको छ।
अरूण गाउँपालिकाको अध्यक्ष निर्वाचित भएर आएसँगै शालिकराम खत्रीले गाउँपालिका भवन निर्माण गर्नेदेखि अन्य विकासका पूर्वाधारका लागि निरन्तर सक्रियता देखाउँदै आएका छन्। अरुण गाउँपालिकाको प्रशासनिक भवन बनाउने विषयमा अघिल्ला अध्यक्ष गजेन्द्रबहादुर कार्की कै पालामा जग्गा छनौटको प्रक्रिया सुरु भएको थियो। उक्त प्रक्रियालाई निकास दिँदा विभिन्न अवरोध खडा भएको थियो। अब भने सर्वोच्च अदालतले नै बाधा अवरोध फुकाइदिएको छ। काम गर्न खोज्नेलाई खुट्टा तान्ने प्रवृत्ति अरूणमा देखिँदै आएको छ। अरुण गाउँपालिकाको भौतिक पूर्वाधार विकासमा देखा परेको यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ।
ट्याग : #अरुण गाउँपालिका
तपाईको प्रतिक्रिया दिनुहोस