यी हुन् नेपाल बार काउन्सिलका नवनिर्वाचित पार्षदहरू


काठमाडौं। नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल)को पार्षद निर्वाचनमा ७ वटै प्रदेशको परिणाम आइसकेको छ। बागमती र कर्णाली प्रदेशबाहेक अन्य पाँच प्रदेशमा नेपाली कांग्रेस निकट वकिलहरुको सुभेच्छुक संस्था डिएलए र नेकपा एकीकृत समाजवादी निकट वकिलहरूको संगठन एसपीएलले गठबन्धनले बाजी मारेको हो।

कर्णाली प्रदेशबाट भने नेकपा एमाले निकट वकिलहरूको संगठन पीपीएल र नेकपा माओवादी निकट आरपीएलएको गठबन्धनका पार्षद उम्मेदवार निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा बागमती र कर्णालीबाहेक अन्य प्रदेशको पार्षद डिएल-एसपीएलए गठबन्धनको पोल्टामा गएको हो।

नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा डिएलए-एसपीएलको एउटा गठबन्धनमा थियो भने आरपीएलए, पीपीएलए, स्वतन्त्र कानुन व्यवसायी मञ्च, एफएलए, प्रजातान्त्रिक कानुन व्यवसायी संगठनलगायतको अर्को वृहत्त गठबन्धन चुनावी मैदानमा खडा भएको थियो।

कोशी प्रदेशबाट डिएलएका उम्मेदवार अधिवक्ता राजु ढकाल बार काउन्सिलको पार्षदमा निर्वाचित भएका छन्। उनी सुनसरी जिल्ला अदालत बार एशोसिएसनका पूर्वअध्यक्ष समेत हुन्। ढकालले पीपीएलए-आरपीएलए वृहत्त गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यलाई पराजित गरेका हुन्।

मधेश प्रदेशबाट पनि डिएलए-एसपीएलए गठबन्धनका उम्मेदवार अधिवक्ता सञ्जीवकुमार मल्लिक पार्षदमा निर्वाचित भएका छन्। उनले विपक्षी गठबन्धनका उम्मेदवार ओमप्रकाश केसरीलाई हराएका हुन्।

बागमती प्रदेशमा भने पीपीएलए-आरपीएलएसहित वृहत्त गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता रविनारायण खनाल निर्वाचित भएका छन्। डिएल-एसपीएलए गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालालाई पराजित गर्दै खनाल बार काउन्सिलको पार्षदमा निर्वाचित भएका हुन्। बागमतीको पार्षद अरू प्रदेशको भन्दा महत्त्वपूर्ण मानिन्छ।

गण्डकी प्रदेशबाट बार काउन्सिलको पार्षदमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन्। उनी पनि डिएल-एसपीएलए गठबन्धनका उम्मेदवारी हुन्। गौतम नारायणप्रसाद शर्मालाई हराउँदै गण्डकीबाट नेपाल बार काउन्सिलको पार्षद बन्न सफल भएका छन्।

लुम्बिनी प्रदेशबाट नेपाल बार काउन्सिलको पार्षदमा डिएल-एसपीएलए गठबन्धन कै उम्मेदवार अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली निर्वाचित भएका छन्। अधिवक्ता मदनकुमार पुनलाई पराजित गर्दै ज्ञवाली लुम्बिनी प्रदेशको पार्षद बन्न सफल भएका हुन्।

कर्णाली प्रदेशको पार्षदमा भने पीपीएलए-आरपीएलए गठबन्धनका उम्मेदवार अधिवक्ता मातृकाप्रसाद खनाल निर्वाचन भएका छन्। खनालले डिएलए-एसपीएल उम्मेदवार अधिवक्ता दमनराज बमलाई पराजित गरेका हुन्।

सुदूरपश्चिम प्रदेशबाट बार काउन्सिलको पार्षदमा डिएल-एसपीएलए गठबन्धन कै उम्मेदवार अधिवक्ता टेकबहादुर कटुवाल निर्वाचित भएका छन्। उनी विपक्षी गठबन्धनका अधिवक्ता निरञ्जन विष्टलाई पछि पार्दै सुदूरपश्चिम प्रदेशबाट नेपाल बार काउन्सिलको पार्षदमा निर्वाचित भएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, #अधिवक्ता टेकबहादुर कटुवाल, #अधिवक्ता दयाराम गौतम, #अधिवक्ता मातृकाप्रसाद खनाल, #अधिवक्ता राजु ढकाल, #अधिवक्ता सञ्जीवकुमार मल्लिक, #नेपाल बार काउन्सिल पार्षद, #वरिष्ठ अधिवक्ता रविनारायण खनाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ