भन्सार र राजस्व विभागका महानिर्देशक एकसाथ हटाइए


काठमाडौं। भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक एकसाथ हटाइएका छन्। भन्सार विभाग महानिर्देशक हरिशरण पुडासैनी राष्ट्रिय योजना आयोगमा पुगेका छन् भने आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका हुन्। गत भदौंमा एकसाथ भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका पुडासैनी र आचार्यलाई ६ महिनापछि एकसाथ अर्थ मन्त्रालबाटै ‘आउट’ गरिएको हो।

अर्थ सचिव फेरिएसँगै र भन्सार र आन्तरिक राजस्व विभागको महानिर्देशक फेरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। अर्थ सचिवको जिम्मेवारीमा अख्तियारका घनश्याम उपाध्याय रेग्मी आएका छन्। अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयतिर पठाइएको छ।

त्यस्तै अर्थ मन्त्रालयबाट समेत दुई सहसचिव बाहिरिएका छन्। दीर्घराज मैनाली र नारायणप्रसाद रिसाल अर्थ मन्त्रालयबाट बाहिरएका हुन्। वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुखको भूमिकामा रहेका रिसाललाई गृह मन्त्रालय पठाइएको छ। वित्त क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखामा रिसालमाथि ‘सौता’ हालिएको भनिएका सहसचिव मैनाली पनि अर्थबाट ‘आउट’ भएका छन्। उनको सरूवा राष्ट्रिय सूचना आयोगमा भएको छ। रिसालले हेर्दै गरेको काम मैनालीलाई दिएर अर्थ मन्त्रालयमा राखेपछि रिसाल त्यति खुसी थिएनन्। उनीहरू दुवैजना अर्थबाट एकसाथ बाहिरएका हुन्।

अर्थ मन्त्रालयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल र राष्ट्रिय महिला आयोगकी सचिव (सहसचिव) पार्वती अर्याल भित्रिएका छन्। राष्ट्रिय सूचना आयोगका सचिव (सहसचिव) कमलपसाद भट्टराईको श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको हो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक अर्जुसप्रसाद भट्टराई गत पुस ९ मै घर गएपछि विभागको महानिर्देशक निमित्तको भरमा चलिरहेको छ।

राष्ट्रिय योजना आयोगका सहसचिव यज्ञराज कोइरालाको कृषि पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ। कृषि पशुपन्छी विकास मन्त्रालयमा प्रशासन महाशाखा हेर्ने सहसचिव मदन भुजेल मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव बनेर गएपछि उक्त ठाउँमा खाली थियो।

हङकङको महावाणिज्यदूतबाट हालै फिर्ता भएका सहसचिव उदयबहादुर राना मगर बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा भएका छन्। ईटहरी उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ। शिक्षाका सहसचिव मेहता झन्डै ३ वर्ष ईटहरी बसेर काठमाडौं फर्किएका हुन्। शिक्षा सेवा कै राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका उपमहानिर्देशक युवराज पौडेलको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

हालै सूचना नेपाल विविध सेवा प्रविधि तर्फको सहसचिवमा बढुवा भएका आदेश खड्कालाई सञ्चार तथा सूचना प्रविधि मन्त्राल पठाइएको छ भने श्रीचन्द्र साहलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाउने गरी अर्थ मन्त्रालय पठाइएको हो।

इन्जिनियरिङ तर्फका सहसचिवहरू राजकुमार गोइत र पुष्कर प्रसाद पोखरेल सहरी विकास मन्त्रालय, प्रेमकुमार सिंह भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा अन्तर्गत र भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेकी कृषि तर्फकी सहसचिव डा. नम्रता सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #रामप्रसाद आचार्य, #हरिशरण पुडासैनी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ