७ महिनादेखि परराष्ट्र मन्त्रालयमा हल्लिरहेका सहसचिव लेखक
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/Screenshot_2024-11-25-09-31-35-712_photoeditor.layout.collagemaker-1.jpg)
काठमाडौं। मन्त्रिपरिषद्ले गत साउन अन्तिमतिर प्रशासन सेवाका ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरूवा गऱ्यो। सरूवा हुनेमा भरत खनाल, लक्ष्मीप्रसाद निरौला, झक्कप्रसाद आचार्य र विन्देश्वरप्रसाद लेखक रहेका थिए।
ग्वान्जाओ, ल्हासा र कलकत्ताको महावाणिज्यदूत र चीनको बेइजिङस्थित नेपाली दूतावासको इकोनोमिक मिनिस्टर बनाउने उद्देश्यले ती ४ जना सहसचिवलाई परराष्ट्र मन्त्रालय पठाइएको थियो। महावाणिज्यदूत ताकेर परराष्ट्र मन्त्रालयमा हाजिर गरिरहेका प्रशासन सेवाका सहसचिव नवराज ढुंगाना, नारायणप्रसाद भट्टलाई परराष्ट्रबाट आउट गराएर उनीहरूको ‘इन्ट्री’ भएको थियो।
तीमध्ये खनाल ग्वान्जाओको महावाणिज्यदूत भएर गए। निरौला ल्हासा र आचार्य कलकत्ताको महावाणिज्यदूत भएर पनि ‘भोटो फटाउने’ बेला भइसक्यो। तर, लेखक भने अहिले पनि परराष्ट्र मन्त्रालयमा हाजिर गरेर टाप ठोक्ने (हा.टा.) गर्दै आएका छन्।
![](https://ap-south-1.linodeobjects.com/swasthyalive/2025/02/IMG_20250212_055349.jpg)
गृहमन्त्री रमेश लेखकको जोडबलमा परराष्ट्र मन्त्रालय पुगेका विन्देश्वरलाई बेइजिङको इकोनोमिक मिनिस्टर बनाउन सिफारिस गरिएको थियो। तर, उनी बेइजिङ नगइकन ७ महिनादेखि केही काम नगरी परराष्ट्र मन्त्रालय हाजिर गर्दै हिँड्ने गरेका छन्। उनी बेइजिङ नगई हङकङको महावाणिज्यदूत ताकेर बसिरहेको परराष्ट्र मन्त्रालय स्रोतको दाबी छ।
हङकङको महावाणिज्यदूत रहेका आदिवासी/जनजाती पृष्ठभूमिका उदयबहादुर राना मगर ४ वर्षे कार्यकाल पूरा गरेर नेपाल फिर्ता भइसकेका छन्। रानाको मंगलबार मात्र परराष्ट्र मन्त्रालयबाट बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरिएको छ। हङकङमा आदिवासी/जनजाति पृष्ठभूमिका नेपालीहरूको बाहुल्यता रहेकाले त्यसै पृष्ठभूमिका महावाणिज्यदूत पठाउँदा सहज हुने आवाज उठ्दै आएको छ। तर, गृहमन्त्री लेखकको ‘पावर’ लगाएर विन्देश्वर बेइजिङ नगई हङकङ ताकिरहेका छन्। ७ महिनादेखि एउटा सहसचिव जिम्मेवारी नलिई तोकिएको ठाउँमा नगई हाजिर गरेर मात्र राज्यकोषबाट तलब खानु बेथितिको पराकाष्ठा हो।
भीमदत्त नगरपालिका वडा नम्बर ६ कञ्चनपुर ठेगाना भएका विन्देश्वर २०७८ मा खुला प्रतिस्पर्धाबाट सहसचिव लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा फ्यालिएका थिए। त्यो बेला सुरेश पन्थी र प्रदीप परियार सहसचिवमा सिफारिस भएका थिए। पन्थी अहिले कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक र परियार सूचना तथा प्रसारण विभागको महानिर्देशकको भूमिकामा रहेर राम्रै काम गरिरहेका छन्। लेखकको शैली हेर्दा त्यो बेला बैकल्पिकमै राखेर लोक सेवाले पनि राम्रै निर्णय गरेको आभाष हुन्छ।
२०७८ मा खुला प्रतिस्पर्धाको बैकल्पिकमा परेका २०७९ मा भने आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव नाम निकाल्न सफल भएका थिए। रामकृष्ण लामिछाने, लेखक, बद्रीनाथ गैह्रे र पार्वती अर्याल आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव सिफारिस भएका थिए। उनीहरूमध्ये लामिछाने, गैह्र र अर्यालले राम्रैसँग तोकिएको जिम्मेवारी बहन गरिरहेका छन्। लेखक भने परराष्ट्रतिर भौतारिरहेका छन्। परराष्ट्रमा छिर्नुअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा बसेर दिन बिताउने गरेका थिए। लेखकले बरण्डा महाशाखा परराष्ट्रमा पनि सँगै लिएर गएको भनेर व्यंग्य गर्न थालिएको छ। तर, एउटा सहसचिव ७ महिनादेखि काम नगरी र जिम्मेवारी नलिई बस्नु खोजीको विषय हो। यस्तो विकृति अन्त्य हुनैपर्छ।
क्याटेगोरी : समाचार
ट्याग : #परराष्ट्र मन्त्रालय, #विन्देश्वरप्रसाद लेखक सहसचिव
तपाईको प्रतिक्रिया दिनुहोस