अख्तियारले सुरेन्द्र पौडेलदेखि पशुकी सहसचिव सुलोचना श्रेष्ठसम्मको अकुतको केस तामेलीमा राख्यो


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक (एमडी) सुरेन्द्र पौडेलदेखि पशु सेवा विभागकी उपमहानिर्देशक डा. सुलोचना श्रेष्ठसम्मको स्रोत नखुलेको (अकुत) सम्पत्ति आर्जनको ‘केस’ तामेलिका राखेको छ। पछि थप प्रमाण प्राप्त भए अनुसन्धान हुने गरी उनीहरूको ‘केस’ अख्तियारले तामेलीमा राखेको हो। 

अकुतको केस तामेलीमा पर्नेमा औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेल समेत रहेका छन्। खकुरेलसहित ३३ जना कर्मचारीको अनुसन्धान हुँदा सार्वजनिक पद धारण गरेको अवधिभित्रको आम्दानीको वैध स्रोतबाट प्राप्त रकमको अनुपातमा निजहरूले आर्जन गरेको चलअचल सम्पत्ति तथा अन्य खर्चहरू कम भएको खुल्न आएकोले पछि अन्य थप प्रमाण प्राप्त हुन आएमा सोही बखत पुनः अनुसन्धानलगायत कानुनबमोजिम कारबाही हुने नै हुँदा ३३ वटा कर्मचारी/पदधिकारीविरुद्धको उजुरी तामेलीमा राखेको अख्तियारले जनाएको छ।

सुरेन्द्र पौडेल उदपुर सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक हुँदा गैरकानुनी सम्पत्ति आर्जनको विषयमा अख्तियारमा उजुरी परेको थियो। अख्तियारले डामेका पौडेलको अकुतको केस भने तामेली (कोमामा) गएको छ। पशु सेवा विभाग हरिहर भवनमा कार्यरत सहसचिव सुलोचना श्रेष्ठले पशु ल्याब, अस्पतालको इक्विपमेन्ट र निर्माणको खरिदमा कमिसन लिई करोडौं रुपैयाँ भ्रष्टाचार गरी अवैध गैरकानुनी सम्पत्ति आर्जन गरेको भनेर अख्तियारमा परेको उजुरी तामेलीमा पुगेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्राल, सिंहदरबारबाट सेवानिवृत्त भएका सहसचिव डा. लोकनाथ पौडेलले सार्वजनिक सेवामा रहँदा गैरकानुनी कार्यहरूमा संलग्न भई अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी परेको उजुरीलाई पनि अख्तियारले तामेलीमा राखिदिएको छ। खानेपानी तथा ढल निकास विभागको सुईबाट अवकाश प्राप्त नन्दलाल बन्जाडेको गैरकानुनी सम्पत्ति आर्जनको उजुरी तामेलीमा परेको हो। सडकका सिडिई अमृतमणि रिमाल र केदारप्रसाद नेपालविरुद्ध अख्तियारमा गैरकानुनी सम्पत्ति आर्जनको विषयमा परेको उजुरी पनि तामेलीमा पुऱ्याइएको छ।

भ्रष्टाचारी ठहर भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सिनियर एर ट्राफिक कन्ट्रोल अफिसर उपसचिव प्रमोद नेपालदेखि आन्तरिक राजस्व कार्यालय कालिमाटी, काठमाडौंका प्रमुख कर अधिकृत बोलराज आचार्यको अकुतको केस पनि अख्तियारमा शेष भएको छ।

 

राजस्व अधिकृत निरद रेग्मी, भन्सार अधिकृत लक्ष्मण बास्तोला, आन्तरिक राजस्व कार्यालय ललितपुरका नायब सुब्बा भक्तिप्रसाद तिमिल्सिना, अध्यागमन अधिकृत कुमार पोखरेलसम्मले तत्काल अकुतमा राहत पाएका छन्। राजस्वतिर सम्पत्ति अर्काको नाममा राखेर भाडामा बस्ने प्रवृत्ति बढ्दो रहेको छ। त्यो कुरा अख्तियारको तामेलीले पनि पुष्टि गरेको छ।

महालेखा नियन्त्रक कार्यालय, अनामनगरका तत्कालीन उपसचिव गणेशप्रसाद उपाध्याय (चालिसे), सर्लाहीको बलरा नगरपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार मिश्र, नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम र सिराहाको गोलबजार नगरपालिकाका तत्कालीन इन्जिनियर जगदिशप्रसाद साहले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषय पनि तामेली पर्न सफल भएको छ।

मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत रघुवंश कँडेल, मालपोत कार्यालय ललितपुरका नायब सुब्बा गुरुप्रसाद भट्ट, खरिदार प्रदिप पौडेल र मालपोत कार्यालय पर्साको कार्यालय सहयोगी निरजकुमार गुप्ताको अकुतको उजुरी तामेलीमा पुगेको हो।

यातायात व्यवस्था कार्यालय, साना/ठूला सवारी एकान्तकुनाका सिनियर इलेक्ट्रोसियन रूपकप्रसाद गुरागाईं, यातायात कार्यालय पर्साका अविन्दर दास, नेपाल विद्युत प्राधिकरण, बालाजु वितरण केन्द्रका तत्कालीन सुपरभाइजर सुमन श्रेष्ठको गैरकानुनी सम्पत्ति आर्जनको उजुरी पनि तामेलीमा पुगेको छ। प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय, मोरङका अधिकृत छैठौं सुवासकुमार कोइराला, रौतहट राजपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एजाजुल हक खाँले, डिभिजन सडक पोखराका तत्कालीन इन्जिनियर पवित्रमणि आचार्यको अकुतको उजुरी पनि तामेलीमा ठेलिएको हो।

नेपाल प्रहरीका सेनानिवृत्त डिएसपी दानसिंह मडैल, बर्खास्तमा परेका प्रहरी सहायक निरीक्षक जन्म अधिकारी र नापी कार्यालय, पोखराका सर्वेक्षक सन्तोष भण्डारीलगायतले स्रोत नखुलेको सम्पत्ति आर्जनसम्बन्धी उजुरी पनि अख्तियारले तामेलीमा हालिदिएको हो। तामेलीमा राखिएका यस्ता केस कुनै पनि बेला जाग्न सक्ने र भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना जीवितै हुन्छ।

 

 

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अकुत सम्पत्ति, #डा. लोकनाथ पौडेल सहसचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय, #प्रमोद नेपाल, #बालकृष्ण खकुरेल, #बोलराज आचार्य राजस्व उपसचिव, #भन्सार लक्ष्मण बास्तोला, #सिडिई अमृतमणि रिमाल, #सिडिई केदारप्रसाद नेपाल, #सुई नन्दलाल बन्जाडे, #सुरेन्द्र पौडेल, #सुलोचना श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ