माईती जिल्ला मकवानपुरको सिडिओ बनिन् स्किम श्रेष्ठ

काठमाडौं। सहसचिव स्किम श्रेष्ठ माईती जिल्ला मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन्। गृह मन्त्रालयले स्किमलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाएको हो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ रहेकी स्किमलाई गृह मन्त्रालयले मकवानपुरको सिडिओमा सरूवा गरेको हो। स्किमको ठाउँ जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भने सुर्खेती हिरालाल रेग्मीको सरूवा भएकाे छ। रेग्मी अहिले रौतहटका प्रमुख जिल्ला अधिकारी (सिडिओ) थिए।
२०६९ असोजमा आदिवासी/जनजाति कोटाबाट महिला विकास अधिकृत बनेकी स्किम २०७७ साउन महिला कोटाबाट सीधै सहसचिव बन्न सफल भएकी हुन्। धनकुटा, लेगुवाका रामकृष्ण श्रेष्ठसँग बैबाहिक बन्धनमा बाँधिएकी स्किम माईती जिल्लाको सिडिओ बन्न सफल भएकी हुन्।
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संघीय मामिला महाशाखा प्रमुख हुँदै स्किम गृह मन्त्रालय छिरेकी थिइन्। गृहमा छिर्नेबित्तिकै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भएकी उनी केही समयपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ बनेर गएकी थिइन्। नवलपरासी पश्चिमबाट उनी माईती जिल्ला मकवानपुरको सिडिओ बन्न सफल भएकी छिन्।
२०८१ जेठ १३ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओको जिम्मेवारी सम्हालेकी स्किमले ९ महिनापछि माईती जिल्लाको सिडिओ भएर जाने सौभाग्य प्राप्त गरेकी छिन्। मकवानपुरका सिडिओ तीर्थराज चिलुवालको अर्थ मन्त्रालय सरूवा भएपछि उक्त ठाउँ खाली थियो। सिडिओ खाली हुँदा गृह मन्त्रालय र नेतृत्वको आलोचना हुँदै आएको थियो। यसैबीच हटिया-९ मकवानपुरमा जन्मिएकी स्किमलाई गृह मन्त्रालयले मकवानपुर सिडिओ बनाएर हेटौंडा पठाउने निर्णय गरेको हो। गृह मन्त्रालय मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर भने धादिङका राजेन्द्रप्रसाद कँडेललाई केही दिन अघि नै पठाइसकेको छ।
यता रौतहटको सिडिओ हिरालाल रेग्मीको सरूवालाई अर्थपूर्ण रुपमा हेरिएको छ। रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा प्रश्न सोधेपछि प्रधानमन्त्री ओली उनीसँग रिसाएका छन्। प्रभु साह कै नेतृत्वमा रौतहटमा यहीं फागुन ११ गतेदेखि १५ गतेसम्म मधानी महोत्सव हुन गइरहेको छ। सांसद साह मधानी महायज्ञ र पतौरा पुरातात्त्विक मन्दिरलाई विश्वस्तरमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ रौतहटमा खटिएका छन्। उक्त मधानी महोत्सव रोक्ने प्रधानमन्त्री ओलीको चाहना पूरा गर्न नसकेपछि रौतहटको सिडिओ रेग्मीको सरूवा भएको गृह मन्त्रालयमा चर्चा छ।
क्याटेगोरी : समाचारट्याग : #सहसचिव स्किम श्रेष्ठ
तपाईको प्रतिक्रिया दिनुहोस