राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन्। पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनवटी कुराहरु नभएको बताए। “हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताका कसैले चुनौती दिन सक्दैन ।’’, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन। त्यो सबै राधिकाको कमाइ र मेहनत हो। त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ। मेरो त सानो हुँदा आफूूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ।’’

प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको पर्वाह नगरी हिँडेको आफूू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफबाह फैलाइएको टिप्पणी गर्दै मुलुकमा लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।

“जेलबाट चप्पल लगाएर निस्किएको एउटा कैदी प्रधानमन्त्री भयो भनेर होच्याउनेहरु पनि छन् । सायद तिनीहरु श्रीपेच लगाएका मान्छेले आफूूलाई रैती बनाएको देख्न चाहन्छन् । जनताको छोरो प्रधानमन्त्री भएको देख्न चाहँदैनन् ।’’, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले भने, “मलाई धेरैले माया र साथ दिन्छन् । मैले लोभ गर्ने हो भने साथीहरुले घर सम्पति जोड्न सहयोग गर्छन् तर मलाई कुनै लोभ छैन । मसँग जे छ, त्यो देश, पार्टी र राज्यको सम्पति हो।’’

बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनेको हो:  महिला शाक्य

लेखक शाक्यले पनि प्रधानमन्त्री ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा राखिन्।

आफूूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उहाँले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरुसँग दुःखेसो पोख्नुुभयो । “हाम्रो जीवनशैली समान्य नै हो । दुःखी, गरिब र असहायहरुलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक एक हिसाब बुुझाउन म तयार छुु । बालकोटको घर हाम्रो पसिना र मेहनताबाट बनाइएको हो ।’’,  शाक्यले भनिन्, “सम्पूर्ण नेपालीले सहजरुपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’’

‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वक्ताहरुले प्रधानमन्त्री र राधिकाको जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताएका थिए। नेकपा (एमाले)का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकूूलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राखे। गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुुभव व्यक्त गरिन्। लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा राधिका शाक्यको योगदानलाई बुुझ्न सकिने बताए।

कार्यक्रममा प्रधानमन्त्री ओली र शाक्यको ३७ औँ विवाह उत्सवमा अवसरमा आयोजकबाट उनीहरूलाई सम्मान गरिएको थियो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ