कागेश्वरी मनाेहराका विद्यालयमा एचपिभी खोपबारे अभिमुखिकरण


काठमाडौं । पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले विद्यालयस्तरमा व्यापक अभिमुखिकरण कार्यक्रम चलाएको छ ।

करिब ७ हजार किशोरीलाई एचपिभी खोप लगाउने उदेश्य अनुरुप विद्यालयस्तरका किशोरकिशोरीलाई पाठेघर क्यान्सर बारे चेतना जगाएकाे हाे । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलले माघ २२ देखि फागुन ६ सम्म अभियान चलाएका छन् ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अभियानमार्फत खोप दिने भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले अभियान प्रभावकारी बनाउन आफ्ना सबै कर्मचारीलाई विद्यालयमा खटाएको छ ।

स्वास्थ्य शाखा प्रमुख तुलाजा लामाले विद्यालयका किशोरकिशोरी उल्लेख्य मात्रामा सहभागी भएको बताइन् । अभियान सफल बनाउन स्वास्थ्य शाखाले यसअघि नगर स्तरीय खोप समन्वय समिति, सरोकारवाला तथा संचारकर्मीहरुको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नगरपालिका भित्र ६४ खोप केन्द्र स्थापना गरिएकाे छ । प्रत्येक केन्द्र रहने विद्यालयमा एकजना भ्याक्सिनेटर र दुईजना स्वयम्सेवक रहने व्यवस्था मिलाइएको छ ।

नेपालमा क्यान्सरका कारणले हुने महिलाको मृत्युमा पाठेघर क्यान्सर पहिलो स्थानमा छ । प्रत्येक वर्ष नेपालमा २,१६९ महिलामा यो रोग देखिने गरेको छ भने १,३१३ जनाको मृत्यु हुने तथ्यांक छ ।

एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो । यो भाइरसका २०० भन्दा बढी प्रकार छन्, जसमा १२ प्रकार क्यान्सर गराउने मुख्य कारक मानिन्छन् । विशेषगरी १६ र १८ प्रजातिका भाइरस नेपालमा ८० प्रतिशत क्यान्सरका घटनामा जिम्मेवार मानिन्छन् ।

नेपाल सरकारले नियमित कार्यक्रम र विशेष अभियानमार्फत देशभर १६ लाख ८८ हजार ७६८ किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य राखेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कागेश्वरी मनोहरा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ