काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेका सहसचिवहरू


काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं बिदामा बसेको झन्डै साढे दुई महिना हुन लाग्यो। आर्थिक अधिकार नभएका नुरनिधि न्यौपाने अहिले काठमाडौं महानगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाभित्र आर्थिक परिचालन र व्यवस्थापनमा समस्या भएको छ। तलब भत्ता र अन्य भुक्तानी समेत रोकिएको हो।

यसैबीच संघीय सरकारले काठमाडौं महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको बताएका छन्। काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर जान १ दर्जन बढी सहसचिवहरू दौडधुपमा छन्। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको चर्चामा रहेका सहसचिवहरू प्रेमप्रसाद भट्टराई, विष्णुप्रसाद कोइराला, रामबहादुर कुरुम्बाङ, रोशन ज्ञवाली, प्रधुम्नप्रसाद उपाध्याय, कुमारप्रसाद दाहाल हुन्।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने उच्च चर्चामा रहेका प्रेमप्रसाद भट्टराई, गृह मन्त्रालयको सहसचिव हुन्। भक्तपुर, मोरङ जस्ता जिल्लामा सिडिओ चलाइसकेका भट्टराईसँग ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत भएर काम गरिसकेको अनुभव छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायमा बसेर काम गरेका भट्टराई सबैका ‘प्यारा’ कर्मचारीका रुपमा परिचित छन्। उनलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरू नै लागिपरेका छन्।

भट्टराईपछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेको नाम हो विष्णुप्रसाद कोइराला। पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका भोजपुरे कोइराला ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चलाइसकेका सहसचिव हुन्। उपसचिव हुँदा कोइराला ऊर्लावारी नगरपालिका, धरान उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका र वीरगञ्ज (हाल महानगरपालिका)का प्रमुख प्रशासकीय अधिकृत (कार्यकारी अधिकृत) भएका थिए। उनी पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने कुरा चर्चामा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्बाङको नाम पनि काठमाडौं जाने चर्चामा सुनिन्छ। बाँकेको प्रमुख जिल्ला अधिकारी हुँदा निकै चर्चामा आएका कुरुम्बाङको हङकङको महावाणिज्यदूतमा जाने विश्चित नभए काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर जाने सम्भावना उच्च रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरू बताउँछन्।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग सुरेश पन्थी पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेको नाम हो। सरोजप्रसाद गुरागाईंभन्दा अघि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका प्रदिय परियारसँगै खुला १ नम्बरमा नाम निकालेका पन्थीको नाम पनि काठमाडौं महानगरपालिकाका लागि चर्चामा आएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, प्रमुख हुँदै विभाग पुगेका पन्थी पन्थीलाई बैतडी, नवलपरासीे पश्चिम जस्ता जिल्लाको सिडिओ चलाइसकेका सहसचिव हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रामबन्धु सुवेदी पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेको पाइन्छ। भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका सुवेदी काठमाडौंको प्रमुख प्रशासकीय अधिकृत बन्ने चर्चामा रहेका सहसचिव हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख, दाङको प्रमुख जिल्ला अधिकारी समेत भइसकेका छन्।

हालै आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका रोशन ज्ञवाली पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका लागि चर्चामा छन्। उपसचिव हुँदा काठमाडौंको दक्षिणकाली नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, बाराको गढीमाई नगरपालिका जस्तामा प्रमुख प्रशासकीय अधिकृत भइसकेका ज्ञवाली काठमाडौं महानगरपालिका ताक्ने भइसकेका हुन्।

नेपाल लगानी बोर्डका सहसचिव प्रधुम्नप्रसादको उपाध्यायलाई पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन मुख्यसचिव एकनारायण अर्यालले जोडबल गरिरहेको सिंहदरबारभित्र चर्चा छ। उनी जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइसकेका व्यक्ति हुन्। नेपाल ट्रष्टको कार्यालयका सहसचिव कुमारप्रसाद दाहाल नाम पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रूपमा लिन थालिएको छ। यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार विभाग जस्ताको महानिर्देशक भइसकेका दाहाल हक्की स्वभावका छन्।

तीर्थराज भट्टराई, प्रदिप अधिकारी, हेमराज अर्याललगायतको नाम पनि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा चर्चामा छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले चाँडै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पठाउने तयारी भइरहेको बताएकाले उनीहरूमध्येबाटै काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जाने प्रवल सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ