सहरीमा मैनालीले ‘इन्ट्री’ मारेपछि विस्थापित भइन् दरबारबाट आएकी विनु

काठमाडौं। राजप्रासाद सेवा (दरबार)बाट आएकी एक्ली सहसचिव विनु वज्राचार्य कुँवर सहरी विकास मन्त्रालयबाट विस्थापित भएकी छिन्। २०८० भदौमा राष्ट्रिय सतर्कता केन्द्रबाट सहरी विकास मन्त्रालय प्रवेश गरेकी कुँवर डेढ वर्ष बसेर बागमती प्रदेशतिर पुगेकी हुन्।
मन्त्रिपरिषद्ले सहरी विकास मन्त्रालयमा एक महिना अगाडि मात्र सहसचिव बढुवा भएका नारायणप्रसाद मैनालीलाई सहरी विकास मन्त्रालय पठाएर विनुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश वा अन्तर्गत सरूवा गरेको हो। सहरीमा प्रदिप परियारलाई विस्थापित गरेर प्रशासन महाशाखा प्रमुख बनेकी विनुलाई सिता गुरूङ सहरी विकासमन्त्री हुँदा निजी सचिव रहेका मैनालीले विस्थापित गरिदिएका हुन्।

राजप्रसाद सेवा (दरबार)मार्फत प्रवेश गरी सर्वोच्च अदालतको आदेशबाट प्रशासन सेवाको सहसचिवमा बढुवा भएकी विनु अहिले उक्त सेवाबाट आएकी एक्ली सहसचिव हुन्। तत्कालीन राजप्रासाद सेवाका उनीसँगै २०७६ साल माघमा सहसचिव भएका रूद्रनाथ देवकोटा, गौलोचन सैंजू, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वेतप्रकाश श्रेष्ठ, अमृतमान श्रेष्ठ अवकाश भइसकेका छन्। सर्वोच्च अदालतको आदेशानुसार २०७४ माघ १८ गतेदेखि लागू हुनेगरी विनु सहसचिवमा बढुवा भएकी थिइन्। अहिले निजामती सेवा ऐन अनुसार ५८ वर्षे उमेर हदलाई आधार मान्दा सहसचिव विनु २०८८ पुस २६ गतेसम्म सरकारी सेवामा रहने छिन्। राजप्रसाद सेवाबाट सँगै प्रशासन सेवामा आएका सहसचिवबाटै अवकाश भइसक्दा विनु भने सचिव बन्ने निश्चित जस्तै देखिन्छ। उमेर हद ६० पुगे उनी २०९० सालसम्म सरकारी सेवामा रहनेछिन्। लोकमान सिंह कार्की राजप्रासाद सेवा (हुप्र)बाटै सेवा प्रवेश गरी मुख्यसचिव बन्न सफल भएका थिए।राजप्रसाद सेवाबाटै आएका राजेश्वरमान सिंह मधेश प्रदेशको पहिलो प्रमुख सचिव बनेका थिए। उक्त सूचीमा अब विनुको नाम थपिने निश्चित छ।
सहरी विकास मन्त्रालयको आन्तरिक व्यवस्थापन समेत हेर्न जिम्मेवारी पाएकी विनुले यसअघिका सहरी विकासमन्त्रीले चढ्ने गाँडी बिग्रदा र तेल बढी खायो भनेपछि आफैं गाडी चढेर चेक गरेको किस्सा अहिले पनि प्रधानमन्त्री कार्यालयमा चल्ने गर्छ। सहरी विकास मन्त्रालयमा ‘जमेर’ बसेका सहसचिव कुँवरलाई १ महिना अघि मात्र सहसचिवमा बढुवा भएका मैनालीले विस्थापित गर्न सफल भएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #नारायणप्रसाद मैनाली सहसचिव, #विनु वज्राचार्य कुँवर सहसचिव, #सहरी विकास मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस