यी हुन् यहीँ आर्थिक वर्षभित्र सचिवमा बढुवा हुने र घर जाने सचिवहरू


काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि थुनामा रहेर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश भएका छन्। पाण्डे अवकाशमा गएसँगै उक्त ठाउँमा नयाँ सचिव बढुवाको तयारी सुरू भएको छ।

फागुन १२ गते अवकाशमा गएका निलम्बित सचिव पाण्डे रिक्त स्थानमा सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव वीरेन्द्रकुमार यादव, मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेलको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ। आगामी मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका ३ जनामध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ।

मन्त्रिपरिषद्को बैठकले १ नम्बरमा सिफारिस भएका वीरेन्द्रकुमार यादवलाई नै सचिवमा बढुवा गर्छ भन्ने छैन। निकट विगतको नजिर हेर्ने हो भने १ नम्बरमा सिफारिस भएका डा. कमलप्रसाद पोखरेललाई सचिवमा बढुवा नगरी गोविन्दबहादुर कार्की र महादेव पन्थलाई सचिवमा बढुवा गरेको उदाहरण छ। विशिष्ट श्रेणी (सचिव)मा बढुवा हुन आवश्यक पर्ने उच्चस्तरीय कार्यकारी विकास कार्यक्रम (एसईडीपी) तालिम लिनुपर्ने हुन्छ। विगतमा पोखरेलले उक्त तालिम नलिएपछि कार्कीलाई बागमती र पन्थलाई लुम्बिनीको प्रमुख सचिव (सचिव) कायममुकायम मुकरर गरेर पठाइएको थियो। सहसचिव पोखरेल वरिष्ठ भएर १ नम्बरमा सिफारिस भएपनि कायममुकायम सचिव भएकाले उनीभन्दा पछिका कार्की र पन्थ पोखरेलभन्दा अघि सचिवमा बढुवा भएका थिए। अहिलेको अवस्था पनि त्यस्तै छ। यादवले एसईडीपी तालिम नलिएकाले मदन भुजेललाई मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव मुकरर गरेर पठाइएको छ। यादवले अहिले एसईडीपी तालिम लिएर १ नम्बरमै सचिव बढुवाका लागि सिफारिस भएपनि कायममुकायमको जिम्मेवारी लिइसकेका भुजेलको सचिवमा बढुवा हुने सम्भावना उच्च रहेको कार्की र पन्थको नजिरले देखाउँछ। तर, त्यसमा मन्त्रिपरिषद्ले स्वविवेक प्रयोग गर्दै यादवलाई नै सचिव बनाउने सम्भावना पनि जीवितै छ।

यादवको यो सिफारिसमा बढुवा नभएपनि राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीको ठाउँमा उनी नै सचिव हुने निश्चित छ। भ्रष्टाचार मुद्दामा डामिएर विशेष अदालतबाट सफाई पाएका सचिव मरासिनीले फागुन १६ गते शुक्रबारदेखि नै ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन्। उनको ठाउँमा भुजेल टेकनारायणको ठाउँमा बढुवा भए यादव र यादव टेकनारायण ठाउँमा बढुवा भए भुजेल मरासिनीको ठाउँमा सचिव बढुवा हुनेछन्। यादव मधेशी कोटाका पहिलो सहसचिव हुन्। उनीभन्दा पछाडि मधेशी कोटाबाट सहसचिव बन्ने कृष्णहरि पुष्करण कर्ण सचिव भएर अवकाशमा जाने दिन नजिकिँदैछ। भुजेल भने आदिवासी/जनजाती कोटाबाट सहसचिव बन्ने तेस्रो व्यक्ति हुन्।

यादव र भुजेलको विवाद टुंगिएपछि भने चन्द्रकला पौडेल सचिवमा बढुवा हुनेछिन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल वैशाख २ गतेदेखि सचिवको ५ वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि पौडेल सचिवमा बढुवा हुनेछिन्। महिला कोटाबाट उपसचिव र सहसचिव भएकी पौडेल पनि डेढ महिनाभित्रै सचिवमा बढुवा हुनेछिन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह वैशाख २५ गतेदेखि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गएपछि अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका शोभाकान्त पौडेल सचिवमा बढुवा हुने देखिन्छ। त्यस्तै ५८ वर्षे उमेर हदका कारण वैशाख ३० गते नै अवकाशमा जान लागेका महालेखा नियन्त्रक कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेको ठाउँमा वन तथा वातावरण मन्त्रालयका सहसचिव भूपाल बरालको बढुवा हुनेछ। उनी ४७ वर्षको उमेरमै सचिव बनेर छिट्टै घर जाने अवस्था छ।

५८ वर्षे उमेर हदका कारण जेठ ६ गते अवकाशमा जान लागेका जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटुवालको ठाउँमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक सहसचिव दिनानाथ मिश्रको बढुवा हुनेछ। मिश्र सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएर पनि पटकपटक बढुवा हुन नपाउने सहसचिवमा पर्छन्।

सचिवको ५ वर्षे सेवा अवधिका कारण २०८२ जेठ २८ गते अनिवार्य अवकाशमा जान लागेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटाको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव निर्मला अधिकारी भट्टराई बढुवा हुनेछिन्। महिला कोटाबाट कानुन समूहको सहसचिव बनेकी निर्मला अहिले कानुनको सबैभन्दा वरिष्ठ सहसचिव हुन्। उनै निर्मला सापकोटाको ठाउँमा सचिव बन्ने देखिन्छ।

जेठ ३० गते अवकाशमा जान लागेका संसद् सेवाका सचिव सुदर्शन खड्काको ठाउँमा सुरज कुमार दुराको बढुवा हुनेछ। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सचिव समेत रहेका दुरा अहिले उक्त व्यवस्थापिका संसद् सेवाको सबैभन्दा वरिष्ठ सहसचिव हुन्। साढे ३ महिनापछि खड्काको रिक्त स्थानमा उनै दुरा सचिव बन्ने उच्च सम्भावना छ।

२०८२ असार ६ गते अवकाशमा जान लागेका महालेखा परीक्षकको कार्यालयका सचिव बामदेव अधिकारीको रिक्त स्थानमा घनश्याम पराजुली बढुवा हुनेछन्। ५ वर्षे सेवा अवधिका कारण आगामी ४ महिनापछि घर जान लागेका उपमहालेखापरीक्षक अधिकारीको ठाउँ नायब महालेखापरीक्षक भोजपुरे पराजुलीले लिने देखिन्छ। वरिष्ठ नायब महालेखापरीक्षक (सहसचिव) श्रीकुमार राईले सचिव हुन आवश्यक पर्ने एसईडीपी तालिम अहिलेसम्म नलिएपछि पराजुलीको भाग्य चम्किने भएको हो। राईले उक्त तालिम नलिँदा उनीभन्दा पछिका सहसचिव (नायब महालेखापरीक्षक) बैकुण्ठबहादुर अधिकारी समेत सचिव (उपमहालेखापरीक्षकमा) बढुवा भइसकेका छन्। एसईडीपी तालिम लिन कम्तिमा पनि छ महिना लाग्ने र राईले लिने तयारी नै नगरेकाले उनीभन्दा जुनियर पराजुली नै लेखापरीक्षणतिरको सचिव बन्ने प्रवल सम्भावना रहेको पाइन्छ। योसँगै चालू आर्थिक वर्षमा घर जाने र सचिव बन्नेको चक्र पूरा हुन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ