उपमहानगरपालिकामा उपसचिव प्रमुख प्रशासकीय अधिकृत कै बर्चस्व


काठमाडौं। सरकारले ईटहरी,जनकपुर, हेटौंडा र जितपुर सिमरा उपमहानगरपालिकाका सहसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत पठाएको छ। देशभर रहेका ११ वटा उपमहानगरपालिकामा ईटहरी र नेपालगञ्जमा मात्र सहसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। अब भने ईटहरी, जनकपुरधाम, हेटौंडा र जितपुर सिमरा उपमहानगरपालिकाले सहसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृत पाउने भएको हो।

मन्त्रिपरिषद्को निर्णयानुसार ईटहरी उपमहानगरपालिकामा सहसचिव हेमराज भुसाल, जनकपुरधाम उपमहानगरपालिकामा सहसचिव वीरेन्द्रकुमार मिश्र, हेटौंडा उपमहानगरपालिकामा सहसचिव भरत गौतम र जितपुर सिमरा उपमहानगरपालिकामा सहसचिव शान्तिराज प्रसाईं प्रमुख प्रशासकीय अधिकृत भएर जाने सूचीमा छन्। उक्त निर्णयसँगै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव राजकुमार केसी जिम्मेवारी मुक्त भएका छन्। हेटौंडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका उपसचिव सूर्यप्रसाद गौतम र जीतपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रहेकी उर्मिला काफ्लेको समेत जिम्मेवारी खोसिने भएको हो।

ईटहरी उपमहानगरपालिका भने सहसचिवस्तरका रामचरित्र मेहता प्रमुख प्रशासकीय अधिकृत रहेकाले सहसचिवको ठाउँमा सहसचिव नै प्रमुख प्रशासकीय अधिकृत बनेर गएका छन्। नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का सहसचिवस्तरका कर्मचारी हुन्। ५ वटा उपमहानगरपालिकामा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाइएपनि अझै ६ वटा उपमहानगरपालिका उपसचिवको कमाण्डमा रहेका छन्।

स्वतन्त्रले जितेको धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा भने उपसचिवस्तरका प्रमुख प्रशासकीय अधिकृत अझै कार्यरत छन्। धरान उपमहानगरपालिका उपसचिव अम्बिकाप्रसाई चौलागाईं र धनगढी उपमहानगरपालिका उपसचिव नरेन्द्रबहादुर खाती प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। धरान र धनगढीमा मात्र होइन बुटवल उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिकामा पनि उपसचिवस्तरकै प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।

बुटवलमा उपसचिव मित्रमणि खनाल, कलैयामा नाथु साह, घोराहीमा ऋषिराम केसी र तुलसीपुर उपमहानगरपालिका उपसचिव गेहेन्द्रबहादुर डाँगी प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। सहसचिवको दरबन्दी रहेको ती उपमहानगरपालिकामा पनि तत्काल सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउनु पर्ने देखिन्छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ