स्वास्थ्य सचिव बने डा. विकास देवकोटा

काठमाडौं। मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत रहेका अतिरिक्त सचिव डा. देवकोटा स्वास्थ्य सचिवमा नियुक्त भएका हुन्। फागुन १२ गते स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवकाश पाएपछि स्वास्थ्य सचिव पद रिक्त रहेको थियो। उक्त ठाउँमा देवकोटाले बाजी मारेका हुन्।
स्वास्थ्य सचिवका लागि डा. संगिता कौशल मिश्र, डा. टंक बराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो। तेस्रो नम्बरमा सिफारिस भएका डा. देवकोटाले पहिलो र दोस्रो नम्बरमा सिफारिस भएका डा. मिश्र र बाराकोटीलाई हेरेको हेरै बनाउँदै स्वास्थ्य सचिव बन्न सफल भएका हुन्।
२०७९ चैतमा १३ गते अतिरिक्त सचिव (बाह्रौं तह)मा बढुवा भएका डा. विकास देवकोटा करिब ३ वर्ष १ महिना स्वास्थ्य सचिवको भूमिकामा रहनेछन्। डा. विकासलाई सचिव बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेल नेकपा एमालेका महासचिव शंकर पोखरेलको विशेष जोडबल रहेको बताइन्छ। विकासभन्दा ९ महिना अगाडि २०७९ असार २३ गते बाह्रौं तहमा बढुवा भएकी डा. संगिता र विकाससँगै अतिरिक्त सचिव बनेका डा. टंकलाई पछि पार्दै डा. विकास स्वास्थ्य सचिव बनेका हुन्।
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको र शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा डा. विकास स्वास्थ्य सचिव रहेकाले विकाससँग सुमधुर सम्बन्ध रहेको पाइन्छ। कोभिड-१९ का बेला स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदा डा. विकासले साराको मन जितेका थिए। उनलाई प्रवक्ताबाट हटाउने निर्णयको सर्वत्र विरोध समेत भएको थियो। समधुर स्वरका धनी विकासले स्वास्थ्य सचिवको जिम्मेवारी धान्न र प्रवक्ता हुँदा जतिकै लोकप्रिय बन्न भने कति सफल हुनेछन् त्यो हेर्न भने ३ वर्षे कार्यकाल कुर्नुपर्ने हुन्छ।
क्याटेगोरी : समाचारट्याग : ## स्वास्थ्य सचिव, ##डा टंक बाराकाेटी, ##डा संगिता कौशल मिश्रा, #डा. विकास देवकोटा
तपाईको प्रतिक्रिया दिनुहोस