स्वास्थ्यमा बसेका मदन भुजेल सचिवमा बढुवा भए


काठमाडौं। सहसचिव हुँदा स्वास्थ्यमा बसेका सहसचिव मदन भुजेल सचिवमा बढुवा भएका छन्। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा भएसँगै भुजेलको मधेश प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएको छ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सचिव बढुवाका लागि राष्ट्रिय योजना आयोगका सहसचिव वीरेन्द्रकुमार यादव, मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन भुजेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को बैठकले भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सचिव बढुवाका लागि सिफारिस भएका यादव मधेशी कोटा, भुजेल आदिवासी/जनजाति कोटा र पौडेल महिला कोटाबाट सहसचिव भएका थिए। मधेशी र महिला कोटाबाट सहसचिव भएका यादव र पौडेललाई पछि पार्दै आदिवासी/जनजाती कोटाबाट सहसचिव भएका भुजेल सचिव बन्न सफल भएका छन्। विरोध खतिवडा स्वास्थ्यमन्त्री हुँदा मकवानपुरे भुजेल स्वास्थ्य मन्त्रालय छिरेका थिए। उनी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहसचिव हुँदै पुसको अन्तिमतिर मधेश प्रदेशको कायममुकायम प्रमुख सचिव बन्न पुगेका थिए। अहिले उनी सचिवमा बढुवा भएर मधेश प्रदेशकै प्रमुख सचिवमा पदस्थापन भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : ##मदन भुजेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ