गृह मन्त्रालयद्वारा ५ सिडिओको पदस्थापन २ सिडिओको सरुवा


काठमाडौं। गृह मन्त्रालयले ५ जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएको छ। मन्त्रालयले बाँकेको सिडिओमा धर्मराज जोशीलाई पठाएको छ। आन्तरिक प्रतिस्पर्धाबाट हालै सहसचिव भएका जोशीलाई बाँकेको सिडिओ बनाएर पठाएको छ। उनी उपसचिव हुँदा केही समय गृहमन्त्री रमेश लेखक निजी सचिव समेत भएर काम गरेका थिए। बाँकेका सिडिओ खगेन्द्रप्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा भएपछि उक्त स्थान खाली थियो। गृह मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू खटाइएको हो।

त्यस्तै दिव्यराज पोखरेललाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ। राजस्वका क्याडर सहसचिवमा बढुवा भएपछि गृहमा छिरेका थिए। उनले सहसचिव हुनेवित्तिकै संखुवासभाको प्रमुख जिल्ला अधिकारी पाएका छन्। संखुवासभाका प्रमुख जिल्ला अधिकारी बिनादकुमार खड्काको रौतहटमा सरुवा भएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको नवलपरासी पश्चिमा सरुवा भएपछि रौतहट सिडिओविहीन थियो।

अख्तियारबाट आएका नरहरि घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। खोटाङको सिडिओ अवकाशमा गएपछि अहिले निमित्तको भरमा थियो। खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले फागुन २४ गतेदेखि अवकाश पाएका थिए। कार्की सिडिओको जिम्मेवारीबाट अलग भएको करिब एक महिनापछि मात्र खोटाङले सिडिओ पाएको हो।

सहसचिव विजयराज सुवेदी ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी बनेर गएका छन्। ओखलढुङ्गाको सिडिओ लामो समयदेखि रिक्त थियो। ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले अवकाश पाएको करिब दुई महिनापछि ओखलढुङ्गाले नयाँ सिडिओ पाएको हो।

गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव शशिधर घिमिरेलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ। नुवाकोटका सिडिओ रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयको जगेडामा तानिएको छ। गृह मन्त्रालयले सिडिओविहीन जिल्लामा सिडिओ पठाएको छ। तर सहसचिवको दरबन्दी सिडिओ रहेका उपसचिवलाई चलाएको छैन।

क्याटेगोरी : समाचार
ट्याग : #दिव्यराज पोखरेल, #धर्मराज जोशी, #नरहरि घिमिरे, #रामकृष्ण अधिकारी, #विजयराज सुवेदी, #विनोदकुमार खड्का, #शशिधर घिमिरे, #सहसचिव सिडिओ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ