स्वास्थ्यमा त्रिपक्षीय समीकरण के हुन्छ? डा. संगिता र डा. टंकको राजीनामा आउला?

काठमाडौँ । आफूभन्दा जुनियर व्यक्ति सचिव भएको भन्दै अहिले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा र डा. टंकप्रसाद बाराकोटी ‘शोक’मा छन्। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो नम्बरमा सिफारिस भएका डा. विकास देवकोटालाई सचिवमा सिफारिस गरेसँगै पहिलो बरियताकी संगिता र तेस्रो स्थानमा सिफारिस भएका टंक अनिश्चितकालीन ‘शोक’मा छन् ।
डा. मिश्रा एघारौं तहमा हुँदै आफू भावी सचिव भन्दै चिनाउँदै हिँडेका घटनाहरू धेरै छन्। आफू सिनियर, महिला, मधेशी, समावेशी सबै हिसाबले सचिव हुनेमा उनलाई कुनै शंका थिएन। तर, उनले सोचेकोभन्दा भित्र फरक खेल चलिरहेको थियो। उनले विश्वास गरेकाहरूले नै उनलाई धोका दिए।
यता डा. टंक बाराकोटी स्वास्थ्य क्षेत्रमा इमानदार चिकित्सकका रुपमा परिचित छन्। उनलाई नियम कानुनभन्दा बाहिरको खेल खेल्न आउँदैन। कम्युनिष्ट विचारधाराका बाराकोटी भ्रष्टाचारमा शून्य सहनशीलता भएका चिकित्सक हुन्। प्रधानमन्त्री ओलीको जिल्लाबासी भएको नाताले पनि उनी सचिव हुनेमा ढुक्क थिए। रातको ९ बजेसम्म उनको पक्षमा माहोल थियो। अन्ततः ९ बजेपछि माहोल मोडियो।
बाराकोटीभन्दा १ नम्बर अगाडि सिफारिस डा. विकास देवकोटाले सचिवमा बाजी मारे। देवकोटा पनि कमजोर पात्र हैनन्। उनको व्यक्तिगत कुरा गर्दा कसैलाई भनी बिझाउने मान्छे हैनन्। देवकोटा काम गर्छु भन्छन् तर, नगर्दिने उनको बानी भने गज्जबको छ। देवकोटालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, त्यसैगरी एमाले महासचिव शंकर पोखरेलले च्यापेका थिए। शंकर पोखरेलका कारण उनले ओलीको क्याबिनेटबाट सचिवमा बाजी मारे। जे होस् काम नगरे पनि गर्दिन्छु भन्ने देवकोटा नराम्रा भने हैनन्।
अब रह्यो अस्तित्वको लडाइँ
सबैभन्दा आक्रामक देखिएकी डा. संगितालाई दुई हप्ता अगाडि नै सचिव नबनाउने पक्कापक्की थियो। संगिताको नाम हटाएर टंक र विकासमा तीब्र प्रतिस्पर्धा थियो। एमालेको महासचिव धार र कांग्रेस मिसिँदा बहुमत पुग्यो विकास सचिव भए।
सचिव बनिसकेपछिको त्रिपक्षीय समीकरण कसरी अगाडि बढ्छ भन्ने मुख्य कुरा हो। अधिकारीहरूले बताए अनुसार त्रिपक्षीय समीकरण विकास सचिव भएसँगै टुङ्गिन सक्छ।
डा. संगिता मिश्राले यस अगाडि नै आफू सचिव नभए राजिनामा दिने बताएकी थिइन्। जुनियरको ‘अन्डर’मा बसेर काम गर्न समस्या हुने उनको बुझाइ छ। त्योभन्दा पनि सचिव हुन्छु भन्दै एक वर्ष अगाडि देखि हिँडेकाले उनलाई पब्लिक र कर्मचारी वृत्तमा मुख देखाउन समस्या हुन्छ। संगिता राजीनमा दिने विषयमा पर्ख र हेरको अवस्थामा छिन्।
डा. टंक बाराकोटी सरकारले सम्मानजनक रुपमा सचिव बनाए चलाउँने अन्यथा पैसाको खेलोमा लाग्ने पक्षमा पहिल्यैदेखि थिएनन्। अतिरिक्त सचिवमा आफूभन्दा जुनियर रहेका विकासलाई सचिव बनाएपछि उनी पनि सोचमग्न भएका छन्। डा. बाराकोटी पनि सेवालाई निरन्तर अगाडि बढाउने पक्षमा देखिएका छैनन्। उनले परिवार र आफन्तसँगको सरसल्लाहमा राजीनामा दिने वा सेवालाई निरन्तरता दिने भन्ने निर्णयमा पुग्ने देखिएको छ।
नवनियुक्त सचिवको विहीबारको पदबहालीमा डा. टंक पुगे तर संगिता पुगिनन् । उनी पनि राजीनामा दिएर मन्त्री पौडेललाई काँडाको बाटो क्लियर गर्ने पक्षमा भएको अनुमान लगाउँन सकिन्छ। डा. देवकोटाले भने पदबहाली गरेर काम थालेका छन्। सरकारले जुनियरलाई सचिव बनाएको यो पहिलो घटना भने हैन। विगतमा यस्ता घटना धेरै भएका छन्।
क्याटेगोरी : समाचारट्याग : ##Sangeeta, ##Tanka
तपाईको प्रतिक्रिया दिनुहोस