वीरको निर्देशकमा शर्मा, गौतम र कार्की सिफारिस, संगिताको जवाफ अनुपमामार्फत दिने स्वास्थ्यमन्त्रीलाई अवसर


काठमाडौं। वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको छ। संक्षिप्त सूचीमा परेका डा. सन्तोष पौडेललाई ‘आउट’ गरेर शर्मा, गौतम र कार्कीको नाम वीर अस्पतालको निर्देशकका लागि सिफारिस भएको हो।
अहिले सिफारिस भएकामध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइका डा. शर्मा पर्छन्। प्रधानमन्त्री ओलीको निजी चिकित्सक भएर काम गरिसकेका डा. शर्मा काबिल प्रशासक समेत हुन्। उनी नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार र चिकित्सा शिक्षा आयोगको निर्देशक भएर समेत कुशलतापूर्वक चलाईसकेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को झन्डै रजिष्ट्रार भइसकेका शर्मालाई प्रमिला देवानले विस्थापित गरिन्। हाललाई न्याम्स अन्तर्गत कै मानिने वीर अस्पतालको निर्देशक बन्छु भन्दा शर्मा उपयुक्त पात्र नै हुन्।
वीरको निर्देशकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको चाहना भने डा. समाज गौतम रहेको अनुमान लगाउन सकिन्छ। डा. समाजलाई मन्त्री पौडेल कै जोडबलमा वीर अस्पतालको निमित्त निर्देशक बनाइएको हो। मन्त्री पौडेलको ल्याकत पुग्यो भने डा. समाज नै वीरको निर्देशक बन्ने उच्च सम्भावना देखिन्छ।
वीरको निर्देशकका लागि महिला चिकित्सकको नाम समेत सिफारिस भएको छ। कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको रूपमा रुपान्तरण हुँदा वीरमा उपनिर्देशक बनेर काम गरेकी डा. अनुपमालाई वीरको निर्देशक बनाएर स्वास्थ्य सचिव हुनबाट बञ्चित डा. संगिता कौशल मिश्रालाई स्वास्थ्यमन्त्री पौडेलले जवाफ दिन सक्ने ठाउँ पनि जीवितै छ। आफूलाई स्वास्थ्य सचिव बनाएपछि डा. संगिताले स्वास्थ्यमन्त्री पौडेललाई महिला विरोध भएको आक्षेप लगाएकी छिन्। आफू महिला विरोधी हैन भन्ने कुरा डा. अनुपमालाई वीरको निर्देशक बनाए प्रमाणित गर्न सक्ने अवसर स्वास्थ्यमन्त्री पौडेलसमक्ष रहेको देखिन्छ। यी तीनजनामध्ये १ जना वीर अस्पतालको निर्देशक हुने निश्चित छ।
कुलपति केपी शर्मा ओली र सहकुलपति प्रदिप पौडेलको ग्रीन सिग्नल अनुसार न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालको निर्देशक नियुक्त गर्नेछन्। वीरको निर्देशकको दौडमा डा. शर्मा नै अघि देखिएका छन्। वीरको निर्देशकशकका लागि भइरहेको ‘रिले’ दौडमा अन्तिममा नतिजा नउल्टिएला भन्न पनि सकिन्न।

क्याटेगोरी : समाचार
ट्याग : ##डा दिलिप शर्मा, #डा. अनुपमा कार्की, #डा. समाज गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ