विवादित पृष्ठभूमिका मोहचन्द्र रेग्मी निजामती अस्पतालको कार्यकारी निर्देशक

काठमाडौं। विवादित पृष्ठभूमिका डा. मोहनचन्द्र रेग्मी निजामती सेवा अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएका छन्। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बोर्ड बैठकले विवादित डा. रेग्मीलाई सिभिल अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि डा. रुद्र मरासिनी डा. मोहनचन्द्र रेग्मी र डा. प्रमोद यादवको नाम सिफारिस गरेको थियो। बोर्डले डा. रेग्मीलाई सिभिल अस्पतालको कार्यकारी निर्देशक बनाएको हो। सिभिल अस्पतालका कार्यकारी निर्देशक विधान निधि पौडेलको कार्यकाल सकिएपछि उक्त ठाउँमा रेग्मीले ‘इन्ट्री’ मारेका छन्।
सिभिल अस्पतालको कार्यकारी निर्देशक बनेका डा. रेग्मी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रार हुँदा आर्थिक विवादमा मुछिएका थिए। वीपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीका तत्कालीन् सल्लाहकार दिलीप भट्टराईले रेग्मीलाई वीपीको रजिष्ट्रार नियुक्ति गर्दा आर्थिक लेनदेन भएको दाबी गरेका थिए। उक्त विवादपछि रेग्मीले वीपी प्रतिष्ठानको रजिष्ट्रारबाट राजीनामा दिएर हिँडेका थिए। उनै विवादित रेग्मीलाई ‘सादगी’ अर्यालको नेतृत्वमा बसेको बोर्ड बैठकले सिभिलको कार्यकारी निर्देशक बनाएको हो।
सुन्नुहोस् डा. रेग्मीसँग सम्बन्धित विवादित अडियो
स्वास्थ्य सचिव डा. रोशन पोखरेल अवकाश भएर विकास देवकोटा आइसक्दा पनि सिभिल अस्पतालको वेबसाइटमा भने रोशन नै बोर्ड सदस्य रहेका छन्। यो समाचार तयार पार्दासम्म सिभिलको वेबसाइटमा मुख्यसचिव अर्यालको अध्यक्षतामा रहेको अस्पतालको बोर्ड सदस्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको हैसियतमा डा. रोशन पोखरेल नै प्रतिनिधित्व गरेको देखाउँछ। यसले पनि सिभिल अस्पतालको प्रशासन कति चुस्त दुरुस्त छ भन्ने प्रस्ट हुन्छ।
ट्याग : #कार्यकारी निर्देशक निजामती सेवा अस्पताल, #डा. मोहनचन्द्र रेग्मी, #निजामती सेवा अस्पताल, #मोहचन्द्र रेग्मी
तपाईको प्रतिक्रिया दिनुहोस