वीर अस्पताललाई देखाएर स्वास्थ्यमा १२ औं तहमा बढुवा गर्ने प्रवृत्ति रोकिएला?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औं (अतिरिक्त) सचिवको दरबन्दी २ वटा छ। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पनि १२ औं तह कै दरबन्दी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संगठन संरचनामा १२ औं तहको दरबन्दी २ वटा मात्रै भएपनि डा. दिपेन्द्ररमण सिंह, डा. संगिता कौशल मिश्रा र डा. टंक बाराकोटी ३ जना मन्त्रालयमा १२ तहका कर्मचारी थिए। स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तह कै डा. विकास देवकोटा रहेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंह स्वास्थ्य सचिव रोशन पोखरेलसँगै अवकाशमा गएका छन्। स्वास्थ्य सेवा विभागका महानिर्देशक रहेका अतिरिक्त सचिव डा. विकास देवकाेटा सचिवमा बढुवा भएका छन्। झट्ट हेर्दा यो स्वास्थ्यमा २ जना अतिरिक्त सचिव रहेको जस्तो छ। तर, त्यस्तो होइन। वीर अस्पतालमा रहेको १२ औं तहको दरबन्दीमा बढुवा गर्ने र मन्त्रालयमै व्यवस्थापन गर्ने प्रवृत्ति र विकृत अभ्यास स्वास्थ्यमा देखिँदै आएको छ।
वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भइसकेका छन्। उक्त ठाउँमा १२ औं तहको दरबन्दी भएपनि अहिलेसम्म मन्त्रालयले पठाउन सकेको छैन। स्वास्थ्यमन्त्रीले नै १२ औं तहको दरबन्दी रहेको वीरको निर्देशकमा मन्त्रालयबाट नपठाई अतिरिक्त सचिवको ठाउँमा त्योभन्दा तल्लो पदको चिकित्सक नियुक्त गर्न सिफारिस गर्दै आएका छन्। यसको अर्थ वीर अस्पतालका १२ औं तहको दरबन्दी आवश्यक छैन भन्ने नै हो। वीर अस्पतालमा १२ औं तहका कर्मचारी पठाउन नसकेपछि उक्त दरबन्दी खारेज गर्न उपयुक्त हुन्छ। तर, वीर अस्पताललाई देखाएर फेरि पनि १२ औं तहमा बढुवा गर्ने कसरत सुरु भएको छ।
राज्य अहिले आर्थिक संकटसँग जुँधिरहेको छ। राज्यले अनावश्यक संरचना र दरबन्दी खारेज गर्ने तयारी गरिरहेको छ। यस्तो अवस्थामा वीर अस्पतालमा अनावश्यक रहेको १२ औं तहको दरबन्दी पनि खारेज गर्नुपर्ने देखिन्छ। वीरलाई देखाएर १२ औं तहमा बढुवा गर्दा मन्त्रालयलाई समेत फाल्तु अतिरिक्त सचिव व्यवस्था गर्न समस्या हुँदै आएको छ। अहिले स्वास्थ्यमा १२ औं तहको एउटा दरबन्दीमा मात्र बढुवा गरेर वीरमा रहेको दरबन्दी खारेज गर्न प्रक्रिया अघि बढाउन उपयुक्त हुने देखिन्छ। यसले राज्यको ढुकुटीमाथि हुने अनावश्यक र अतिरिक्त व्यभार घटाउँछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस