काठमाडौं महानगरपालिका ३ महिनादेखि निमित्तको भरमा


काठमाडौं। काठमाडौं महानगरपालिका ३ महिनादेखि निमित्तको भरमा चलिरहेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं पुस ५ गतेदेखि बिदामा छन्। उनलाई त्यहाँबाट सरुवा गरिदिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेनको) टिमले संघीय सरकार समक्ष आग्रह गरेको छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरू काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाउने विषय आफूहरुको चाहेर नसक्ने सुनाउँछन्। यसको अर्थ प्रधानमन्त्री केपी शर्मा ओली कै निर्देशनमा काठमाडौं महानगरपालिकामा गुरागाईंलाई हटाएर अर्को कार्यकारी नपठाइएको हो।

पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको नक्सापासको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं विवादमा तानिएका हुन्। १९ तले नक्सापासको विषय सार्वजनिक भएपछि उनलाई महानगरबाट हटाउन संघीय सरकारलाई मेयर बालेनले आग्रह गरेका थिए। तर, प्रधानमन्त्री ओली कै हस्तक्षेप रहेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंको ठाउँमा अर्को सहसचिवको नाम प्रस्ताव गर्न सकेको छैन। काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरूवा मन्त्रिपरिषद्को बैठकले गर्ने भएकाले प्रधानमन्त्रीले नचाहँदासम्म नहुने सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरू सुनाउँछन्। प्रधानमन्त्री प्रमुख प्रशासकीय अधिकृत पठाउने पक्षमा नरहेकाले आफूहरूले केही गर्न नसक्ने मन्त्रालयका अधिकारीहरू बताउँछन्।

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक गतिविधि ठप्प छ। पुँजीगत (विकास) खर्चको भुक्तानी त परको कुरा सरसफाईकर्मी र कर्मचारीले तलब खान पाएका छैनन्। महानगर सफा गरेर परिवार पाल्ने सरसफाईकर्मी त्यसको मारमा परेका छन्। ९० दिन बिदा बस्ने सुविधा अनुसार गुरागाईं बसिरहेका छन्। महानगरपालिका भने थलिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ