सगरमाथा संवाद कार्यक्रमको निर्देशक समितिको पहिलो बैठक सम्पन्न

काठमाडौं। आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन आग्रह गरे। उनले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्टरुपमा गर्न आग्रह निर्देशन दिए।
सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ। संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरिसकेको छ। सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो। यस कार्यक्रमको गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले घोषणा गरेका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस