डिल्लीबजारको राम मन्दिरमा संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश


काठमाडौं। डिल्लीबजार चारखालस्थित राम मन्दिर (रामचन्द्र बाहाल)मा संरचना निर्माणको काम अगाडि नबढाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। स्थानीयहरू पुष्परत्न बज्राचार्यसहितले हालेको रिटमा न्यायाधीश कृष्णराम कोइराला एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो। अल्पकालीन अन्तरिम आदेश दिँदै उच्च अदालत पाटनले १४ गते दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि बोलाएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की कै संलग्नतामा भूमाफियासँग मिलेर राम मन्दिर हडप्ने प्रपञ्च रचिएको छ। उक्त विषयलाई लिएर स्थानीयहरू उच्च अदालत पाटन पुगेका हुन्। उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै मन्दिर संरक्षणमा न्याय मिल्ने स्थानीयहरूले विश्वास लिएका छन्।

डिल्लीबजारको मालपोत कार्यालय र गोश्वारा हुलाकसँगै जोडिएको राम मन्दिर मास्ने गरी वडाध्यक्ष नै सक्रियतापूर्वक लागेको छन्। मन्दिर संरक्षणका लागि स्थानीयहरु विरोधमा उत्रिएका हुन्।

नापी कार्यालयको फिल्डबुकमा सिट नम्बर १०-११०५-१० कित्ता नम्बर १९१ मा राम चन्द्र मन्दिर उल्लेख छ। १९२ फिल्डबुकमा खाली छ। नापी नक्सामा पनि मन्दिर (म) जनिएको छ। तर, पछिल्लो नक्सामा ती सबै कुरा गायब बनाइएको देखिन्छ। त्यति मात्र होइन उक्त जग्गा सुमन बस्नेत लगायतका नाममा पूर्जा समेत बनाएको पाइएको छ। उक्त दुषित दर्ता बदर गर्न भूमिका खेल्नु पर्ने वडाध्यक्ष कार्की भूमाफियालाई जग्गा खान दिने गरी सक्रिय भएका छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्की र भूमाफियाबीच राम मन्दिरको अस्तित्व समाप्त हुने गरी गरिएको सम्झौतामा उक्त ठाउँमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० को भवन बनाउने उल्लेख छ। वडाध्यक्षले २५ वर्षका लागि भूमाफियासँग लिजमा लिएको उक्त जग्गामा वडा भवन बनाउने र महानगरले मासिक ३७ हजार भाडा बुझाउने उल्लेख छ। उक्त भाडा रकम प्रत्येक दुई/दुई वर्षमा १० प्रतिशतका दरले बृद्धि हुने उल्लेख छ।

भूमाफियाले आफ्नो नाममा लालपूर्जा बनाएपनि उक्त जग्गा हडप्न सकेका थिएनन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले भूमाफियाको पक्षमा लागेर मन्दिरको अस्तित्व समाप्त पार्न लागेको स्थानीयहरूको आरोप छ।

 

काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले अहिले वडा भवन बनाउने भनेर जुन टहरोमा डोजर चलाएको छ त्यो ठाउँमा साबिक ३२ नम्बर वडा (हाल १९ को कार्यालय) रहेको थियो। पछि उक्त कार्यालय महावीर क्लबले भोगचलन गरेको डिल्लीबजार पिपलबोटमा सरेपछि चारखालस्थित राम मन्दिरको उक्त टहरो राम मन्दिरको भजन कीर्तन गर्ने ठाउँमा परिणत भएको थियो। अहिले साबिक वडा नम्बर ३२ को वडा कार्यालय रहेको ठाउँमा अहिले वडा नम्बर ३० को भवन बनाउने भनेर डोजर लगाइएको छ। तर, व्यक्तिलाई मासिक भाडा दिने गरी वडा कार्यालय भवन बनाउन उक्त ठाउँमा वडाध्यक्षले डोजर लगाएका हुन्। डिल्लीबजारका स्थानीयहरू भने राम मन्दिरको संरक्षणका लागि ज्यानको बाजी लगाएर वडाध्यक्षसँग भिडिरहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ