स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सुम्पिए सूर्य थापाका भाइलाई स्वास्थ्य बीमाको कमाण्ड


काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले प्युठानबाट निर्वाचित नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीका भाइ चन्द्रबहादुर थापा क्षेत्रीलाई स्वास्थ्य बीमा बोर्डको कमाण्ड सुम्पिएका छन्। स्वास्थ्य मन्त्री पौडेलले गत सोमबार सूर्यका सहोदर भाइ चन्द्रलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा चार वर्षका लागि नियुक्त गरेका हुन्। उनले स्वास्थ्य बीमा बोर्डको कमाण्ड सम्हालेका छन्।

चन्द्र स्वास्थ्य बीमाका विज्ञभन्दा पनि सांसद सूर्यका भाइ भएकाले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्तिका लागि योग्य भएको चर्चा छ। नेकपा एमालेको झण्डा नै बोकेर हिँड्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राम्रो हिमचिम भएका कारण उनले स्वास्थ्य बीमा बार्डको अध्यक्ष पड्काउन सफल भएको देखिन्छ। तिलगंगा आँखा प्रतिष्ठानमा सहायक प्राचार्यको रूपमा कार्यरत चन्द्रले स्वास्थ्य बीमा बोर्डको अध्यक्षको हैसियतमा काम समेत सुरू गरिसकेका छन्।

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा भने यसअघि नै स्वास्थ्यमन्त्री पौडेलको गृह जिल्ला तनहुँका डा. रघुराज काफ्ले नियुक्त भइसकेका छन्। स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नेकपा एमाले केन्द्रीय स्वास्थ्य विभागका सदस्य सूर्यका भाइ चन्द्र उदाएका छन्। स्वास्थ्य बीमाले कस्तो गति लिन्छ त्यो भने हेर्न बाँकी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रबहादुर थापा क्षेत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ