यी हुन् सरूवाको अवधि पुगेका सिडिओहरू

काठमाडौं। गृह मन्त्रालयले एक वर्ष पुगेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गर्दै आएको छ। ९ देखि १२ महिनाभित्र सिडिओ सरूवा गर्ने गृह मन्त्रालयको अभ्यास रहेको छ। एक वर्ष कटेपछि सिडिओहरू पनि सरूवाको मनस्थितिमा देखिन्छन्।
स्वास्थ्य लाइभले अध्ययन गर्दा पाँच जना सिडिओले एक वर्ष अवधि पूरा गरेको पाइएको छ। तीमध्ये दार्जुलाका सिडिओ यज्ञराज जोशी र स्याङ्गजाको सिडिओ सुनिता नेपालको त सरूवा नै भइसकेको छ। यद्यपि उनीहरूले जिल्ला छाडिससकेका छैनन्।
२०८० चैत १२ हाजिर भएका दार्जुलाका सिडिओ जोशीलाई गृह मन्त्रालय तानेर उनको ठाउँमा मन्त्रालयले काठमाडौँका सहायक प्रजिअ अनिल पौडेललाई पठाइएको छ। पौडेल दार्जुलामा हाजिर भइसकेका छैनन्। २०८० पुष १६ मा स्याङ्जाको सिडिओमा हाजिर भएकी सुनिता नेपाल एक वर्ष ३ महिनापछि सरूवा भएकी छिन्। उनको ठाउँमा गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ।
अब एक वर्ष पुगेका सहसचिवको दरबन्दीमा रहेका सिडिओहरू धनुषाका रामुराज कडरिया र रोल्पाका खिमबहादुर रायमाझी रहेका छन्। सहसचिव कडरिया २०८० चैत ८ गते धनुषाको सिडिओको जिम्मेवारी सम्हाल्न पुगेका थिए। अवधिको हिसाबले हेर्दा सुनिता नेपालपछि कडरिया बढी अवधि सिडिओमा टिक्ने सहसचिव हुन्। त्यस्तै सहसचिव रायमाझी रोल्पाको सिडिओको भूमिकामा २०८० चैत्र १४ हाजिर भएका थिए। उनलाई पनि त्यहाँबाट सरूवा गरेर अर्को सहसचिव पठाउँदा गृह मन्त्रालयलाई सिडिओ व्यवस्थापनमा सहज हुने देखिन्छ।
गृह मन्त्रालयमा सहसचिवहरू प्रेमप्रसाद भट्टराई, बन्धुपसाद बाँस्तोला र नारायणप्रसाद रिसाल ३ महिनादेखि जगेडामा छन्। २ महिनाभन्दा बढी कर्मचारीलाई जिम्मेवारीविहीन बनाउनु गैरकानुनी कार्य हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भित्रिएका सहसचिव बलराम रिज्याल मधेश प्रदेशबाट आएका सुरेन्द्र पौडेल पनि झन्डै डेढ महिनादेखि गृहको बरण्डामै छन्। १ वर्ष अवधि पुगेका सिडिओलाई फिर्ता बोलाएर उनीहरूलाई पठाउने विकल्प गृह मन्त्रालयसँग रहेको छ।
उपसचिवको दरबन्दीमा कार्यरत सिडिओ बझाङका कैलाशबहादुर ठकुराठीको पनि एक वर्ष पूरा भयो। २०८० चैत १७ गतेदेखि बझाङको सिडिओको जिम्मेवारी सम्हाल्न पुगेका ठकुराठीले गृहको अभ्यास अनुसार एक वर्ष सिडिओ चलाइसकेका छन्। उनको ठाउँमा पनि अर्को उपसचिवलाई पठाउन सकिन्छ। हालै गृह मन्त्रालय सरूवा भएका दार्चुलाका सिडिओ यज्ञराज जोशी र बझाङका कैलाशबहादुर ठकुराठी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका हुन्।
पाँचथरको सिडिओ विष्णुप्रसाद कोइराला, इलामको सिडिओ कल्पना श्रेष्ठ, भोजपुरका सिडिओ नरबहादुर थापा, कास्कीका सिडिओ भरतमणि पाण्डे र बर्दियको सिडिओ रुद्रादेवी शर्मा पनि ९ महिना पार गर्नेमा पर्छन्। उनीहरू जेठको दोस्रो साता ती जिल्लामा सिडिओ भएर गएका थिए। उनीहरूसँगै सिडिओ बनेका रामचन्द्र तिवारी, तीर्थराज चिलुवाल, अरूण पोखरेल, राजेन्द्रदेव पाण्डे, सूर्य सेढाई, इन्द्रदेव यादव, भूपेन्द्र थापा, नारायणप्रसाद सापकोटा, गोपालकुमार अधिकारी, मेखबहादुर मंग्रातीहरूले फड्को मारिसकेका छन्। विष्णु, कल्पना, नरबहादुर, भरतमणि र रुद्रादेवी भने ९ महिनादेखि एउटै जिल्लाको सिडिओमा टिकिरहेका हुन्।
क्याटेगोरी : समाचारट्याग : #अनिल पौडेल, #कल्पना श्रेष्ठ, #खिमबहादुर रायामाझी, #नरबहादुर थापा, #नारायणप्रसाद रिसाल, #प्रेमप्रसाद भट्टराई, #बन्धुप्रसाद बाँस्तोला, #बलराज रिज्याल, #यज्ञराज जोशी, #राजुराज कडरिया, #रुद्रादेवी शर्मा, #विष्णुप्रसाद कोइराला, #सहसचिव सिडिओ नारायणप्रसाद सापकोटा, #सुनिता नेपाल, #सुरेन्द्र पौडेल
तपाईको प्रतिक्रिया दिनुहोस