गौरादह नगर अस्पतालमा भारतका जनताले स्वास्थ्य उपचार लिने प्रधानमन्त्री ओलीको विश्वास


झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालमा भारतका जनताको स्वास्थ्य उपचार लिने विश्वास व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गर्दै उक्त विश्वास व्यक्त गरेका हुन्।

नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आईतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो अस्पताल भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरे। उनले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताए। मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न प्रधानमन्त्री ओलीले आग्रह गरे।

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा  १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ रुपैयाँको लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ।प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा २०७५ सालमा सबै स्थानीय तहमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन। अब भने अस्पताल निर्माणको कार्य अघि बढेको छ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।

कोशी प्रदेशमा रहेका प्रधानमन्त्री ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री समेत वितरण गरेका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आईतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो।

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ