आरजुको कार्यक्रम भारत, अमेरिका र चीनका राजदूतले गरे ‘बहिस्कार’

काठमाडौं। पर्यटकीय नगरी ईलामको कन्याममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले राखेको कार्यक्रम भारत, अमेरिका र चीनका राजदूतले ‘बहिस्कार’ गरेका छन्।
परराष्ट्रमन्त्री आरजुको निर्देशनमा पर्यटन बोर्डले व्यवस्थापन गरेको उक्त कार्यक्रम शक्तिशाली राष्ट्रका राजदूतले नै बहिस्कार गरेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार ईलाममा राखिएको उक्त कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव, अमेरिकी राजदूत डिन थम्पसन र चिनियाँ राजदूत छन सोङलाईलाई पनि निमन्त्रणा गरिएको थियो। तर, भारतीय राजदूत श्रीवास्तव, अमेरिकी राजदूत थम्पसन र चिनियाँ राजदूत सोङ परराष्ट्र मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा उपस्थित नभएका हुन्।
नेपालको राजनीतिमा महत्त्वपूर्ण मानिने दक्षिणी छिमेकी भारत, उत्तरी छिमेकी चीन र आकाशको छिमेकी पनि भनिने अमेरिकाका राजदूत नै परराष्ट्र मन्त्रालयको कार्यक्रममा सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। निमन्त्रणा पाएर पनि उनीहरू नजानुले परराष्ट्रमन्त्रीको असफलताको रूपमा टिप्पणी हुन थालेको हो।
विभिन्न देशका राजदूतसहित परराष्ट्रमन्त्री आरजु, सचिव अमृतबदादुर राई, पर्यटन बोर्डका सिईओ दिपकराज जोशीसहितका उच्च पदाधिकारी कन्याममा देखा पर्दा भारत, अमेरिका र चीनका राजदूत उक्त कार्यक्रममा देखा नपरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार नयाँ वर्ष र परराष्ट्र मन्त्रालयको वार्षिक कार्यक्रम अन्तर्गत ईलामको कन्यामदेखि श्रीअन्तु डाँडासम्म राजदूतहरूलाई देशका महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रम राखिएको थियो। पर्यटकीय गन्तव्य ईलाममा राखिएको परराष्ट्र मन्त्रालयको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डले महत्त्वपूर्ण सहयोग पुऱ्याएको थियो। तर, भारत, अमेरिका र चीनका राजदूत नै अनुपस्थित भएपछि खल्लो महसुस गरिएको छ। यसलाई परराष्ट्रका अधिकारीहरूले बहिस्कारका रूपमा अर्थ्याएका छन्।
ईलामको सूर्योदय नगरपालिकासँगको समन्वयमा राखिएको उक्त कार्यक्रममा बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, इजरायल स्वीट्जल्याण्ड, थाइल्याण्ड, दक्षिण कोरिया, इजिप्ट लगायत देशका राजदूत ईलाम पुगेका थिए। भारत, अमेरिका र चीनका राजदूत भने उक्त कार्यक्रममा देखा परेनन्। कार्यक्रममा सहभागी भएका अन्य राजदूतहरूलाई भने ईलामका विभिन्न ठाउँमा घुमाइएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस